बालेनका विश्वासपात्र पाण्डेको निलम्बन उच्चद्वारा सदर

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहका विश्वासपात्र रहेका महानगरको प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरिदिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफूलाई गरेको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।

उच्चका न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार पाण्डेको रिट खारेज गरिदिएसँगै उनलाई निलम्बन गर्ने निर्णय सदर भएको छ । पाण्डेलाई निलम्बन गरेपछि काठमाडौं महानगरपालिकाले नयाँ महानगर प्रहरी बल प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई ल्याएको थियो । अब उनैले निरन्तरता पाउने छन् ।

पाण्डे ६ महिनाका लागि निलम्बनमा परेसँगै जोशीलाई गत जेठ २० गते नगर प्रहरीको कमान्ड दिने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका थिए । तर, उनको निर्णयलाई तत्कालीन अवस्थामा रोक लगाउँदै उच्चले जोशीलाई नहटाउन अन्तरिम आदेश दिएपछि पाण्डे काममा फर्किएका थिए ।

वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई २०८१ जेठ ६ गते गुरागाईँले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए । त्यसपछि पाण्डेले जेठ १२ मा गुरागाईँसमक्ष स्पष्टीकरण बुझाए । स्पष्टीकरणमा उनले मेयर बालेन्द्र साहको आदेश पालना गरेको बताएका थिए ।

२०८१ चैत २१ गते गुरागाईँ काठमाडौं प्लाजास्थित कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक्ने प्रयास गरेको थियो । गुरागाईँलाई रोक्न नसकेपछि पाण्डे नेतृत्वको नगर प्रहरीले कार्यालयभित्रै महानगरका कर्मचारीहरूमाथि बल प्रयोगको कोसिस गरेको थियो । त्यसपछि गुरागाईँले पाण्डेलाई किन कारबाही नगर्ने भनेर जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डेलाई २०८० असोज ३० मा बढुवा गरेको थियो । मेयरमा बालेन्द्र साह आइसेपछि पाण्डेले नगर प्रहरीको नेतृत्व पाएका थिए । तर, महानगरको प्रमुख प्रशासकीय अधिकृतप्रति उत्तरदायी हुनुपर्ने भएपनि बालेनको निर्देशन मात्र पालना गर्ने गरेका थिए ।

उच्चको आदेशसँगै पाण्डे मंसिर २० गतेसम्म निलम्बनमै रहने भएका छन् । जेनजी आन्दोलनको समयमा बालेनको निर्देशनमा पाण्डेले आन्दोलनकारीलार्ई पानी वितरण गर्न नगर प्रहरी खटाएका थिए । तर, सिंहदरबारसहितका संरचना आगलागी हुँदा भने दमकल नपठाएको भन्दै साह र पाण्डेको आलोचना हुने गरेको छ ।

कार्तिक १२, २०८२, साँझको ०६:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर