विराटनगर । निजी स्वास्थ्य संस्थाहरुले नर्सहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको भन्दै विराटनगरमा नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ सङ्घको आह्वानमा सुरु भएको आन्दोलनमा विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।
नेपाल नर्सिङ सङ्घ मोरङको अगुवाइमा कोशी अस्पतालका नर्सहरुले अस्पताल परिसरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘नर्सको कामको सम्मान गरौँ, श्रम शोषण अन्त्य गरौँ, विदेश जाने वातावरण हटाऊ, र श्रमको अवमूल्यन नगरौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रममा बोल्दै नेपाल नर्सिङ सङ्घ मोरङकी अध्यक्ष लजिता योन्जनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालहरुले अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने बताइन् । उनले जबसम्म राज्यले तोकेको पारिश्रमिक लागू हुँदैन, तबसम्म स्वास्थ्यकर्मीहरुको आन्दोलन नरोकिने चेतावनी दिइन् ।

केन्द्रीय सर्कुलर अनुसार, कोशी अस्पतालका नर्सहरुले बुधबारदेखि हरेक दिन दुई घण्टा हातमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको अध्यक्ष योन्जनले जानकारी दिइन् । उनीहरुले आफ्नो माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन् । यो आन्दोलनले निजी क्षेत्रमा कार्यरत नर्सहरुको दयनीय अवस्थालाई उजागर गरेको छ र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।





