एकताका लागि एकीकृत समाजवादीको सर्तै सर्त

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले भावनात्मक वा क्षणिक लाभका आधारमा नभई स्पष्ट वैचारिक र सैद्धान्तिक धरातलमा मात्र वामपन्थी शक्तिहरूसँग पार्टी एकता सम्भव हुने अडान स्पष्ट पारेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कुनै पनि दलसँग एकता गर्नका लागि न्यूनतम वैचारिक शर्तहरू अघि सारिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको मार्गदर्शक सिद्धान्त ‘माक्सवाद–लेनिनवाद’ र रणनीतिक लक्ष्य ‘वैज्ञानिक समाजवाद’ लाई स्वीकार गर्ने शक्तिसँग मात्र एकताको ढोका खुला रहनेछ ।’

प्रतिवेदनमा तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गर्नुको औचित्यमाथि समेत प्रकाश पारिएको छ । तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेलेको र असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि विद्रोह गर्नु बाध्यात्मक र औचित्यपूर्ण रहेको जिकिर गरिएको छ ।

अध्यक्ष नेपालले वाम एकता आजको आवश्यकता भए पनि स्पष्ट वैचारिक आधारबिनाको एकताले फेरि पनि दुर्घटना निम्त्याउने संकेत गरेका छन् । प्रतिवेदनले पार्टीको नाम, क्रान्तिको चरण, र प्रधान अन्तरविरोध जस्ता मूलभूत विषयमा समान धारणा राख्ने कम्युनिष्ट घटकसँग मात्र सहकार्य र एकताको प्रक्रिया अघि बढाउन सकिने स्पष्ट पारेको छ । यसले एकीकृत समाजवादीले तत्काल कसैसँग बिनाशर्त एकता नगर्ने नीति लिएको प्रष्ट हुन्छ ।

कार्तिक १२, २०८२, दिउँसोको ०१:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर