विराटनगर । जेनजी आन्दोलनकी अभियान्ता किशोरी कार्कीले माओवादी युद्धको बेलामा सहिद भएका र वेपत्ता पारिएका पीडितहरुको पक्षमा जीवन भर वकालत गर्ने बताएकी छिन् ।
उनका बुबा बुबा हिमालकाजी कार्कीलाई तत्कालीन राज्यसत्ताले माओवादी भएको नाममा २०५८ मंसिर १५ गते उदयपुर कटारीको डोल्मा रेस्टुरेन्टबाट पक्राउ गरेर बेपत्ता बनाएको थियो ।
ओखलढुंगा चिसंखुगढी भदौरेमा जन्मिएकी कार्की त्यसबेला २२ महिनाकी मात्र थिइन् । त्यही बेला
उनकी आमा पशुपति बस्नेतलाई पनि पक्राउ गरेर १७ महिना जेल हालियो । मावलका हजुरबा हजुरामासँग त्यो समय बिताएकी उनले आफू मावलमा बस्नु परेको कारण धेरै पछि मात्रै थाहा पाइन् । त्यसपछि उनी अहिले पनि बेपत्ता बनाइएका आफ्ना बुबालाई मात्रै होइन त्यसबेला वेपत्ता भएका हजारौंको परिवारको न्यायको लागि वकालत गर्दै आएकी छिन् ।
त्यही आफ्नो व्यक्तिगत पीडाले नै आफूलाई राजनीतिक विद्रोहमा होमेको उनी बताउँछिन् । ‘मेरो आमाले मलाई औंला समातेर ‘कि सास चाहियो, कि लास चाहियो’ भन्दै आयोगहरूको ढोका चहारेको देखेरै म हुर्किएकी हुँ,’ भावुक हुँदै उनले भनिन्, ‘त्यही अन्यायविरुद्धको लडाइँले मलाई आज यहाँसम्म ल्याएको हो ।’
जेनजी आन्दोलनकै बलमा बनेको नयाँ सरकारको कार्यशैलीप्रति पनि उनको तीव्र आक्रोश छ । ‘यो सरकार र पुरानो सरकारमा मैले कुनै भिन्नता देखेको छैन,’ उनले आरोप लगाइन्, ‘मन्त्रिपरिषद् गठनमा भएको ढिलासुस्ती, विवादास्पद पात्रहरूको नियुक्ति र विदेशी दबाबमा काम गर्ने प्रवृत्तिले हामीलाई धोका भएको महसुस गराएको छ ।’
उनले काठमाडौं बाहिरका शहीद र घाइते परिवारलाई सरकारले पूर्ण रूपमा उपेक्षा गरेको दाबी गरिन् । ‘काठमाडौंमा भएकालाई मात्रै समेट्ने, तर मोफसलका पीडितहरूको अवस्था दयनीय हुँदा पनि नहेर्ने ? यो कस्तो न्याय हो ?’ उनले प्रश्न गरिन्, ‘नेताका परिवार बिरामी हुँदा हेलिकप्टर आइपुग्छ, तर जनताका छोराछोरी उपचार नपाएर मरिरहेका छन् ।’
किशोरीले देशको वर्तमान समस्याको जड नै अहिलेको शासकीय स्वरूप र संविधानका केही प्रावधानहरू भएको बताइन् । ‘यो देशलाई स्थिर बनाउने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनैपर्छ । जनताले आफ्नो शासक सोझै चुन्न पाउनुपर्छ,’ उनले भनिन् ।
आगामी फागुन २१ गते हुने चुनावमा उम्मेदवार बन्ने चर्चाका बीच उनले आफ्नो प्राथमिकता पद र राजनीति नभएको स्पष्ट पारिन् । ‘मेरो पहिलो र अन्तिम लक्ष्य भनेकै मेरा बुबाजस्ता हजारौं बेपत्ता र शहीद परिवारलाई न्याय दिलाउनु हो,’ उनले भनिन्, ‘यदि भोलि ती पीडित परिवारहरूले नै सर्वसम्मत रूपमा हाम्रो आवाज बनिदिनुस् भनेर आग्रह गरे भने म उहाँहरूको लागि मात्रै उठ्न तयार छु ।’
आफूलाई चुनाव लड्न ओखलढुंगाबाट निरन्तर आग्रह आइरहेको खुलासा गर्दै उनले कुनै पनि निर्णय सबै पीडित र जेनजी अभियान्ताहरूसँगको बृहत् छलफलपछि मात्रै लिने बताइन् । जेनजी आन्दोलनमा लागेपछि आफ्नो जागिरसमेत गुमेको र अहिले आमाले पठाएको खर्च र सानोतिनो काम गरेर गुजारा चलाइरहेको बताउँदै उनले आफूलाई कुनै पनि स्वार्थ समूहले किन्न नसक्ने दृढता व्यक्त गरिन् ।


