विराटनगर । नेकपा माओवादी केन्द्रसँग एकताको चर्चा चलिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

समाजवादी मोर्चालाई एउटै पार्टी बनाउने गृहकार्य भइरहेको भएपनि आफूलाई अध्यक्ष माग गरेका विप्लबले त्यस अनुसार सहमति नजुटेपछि आफ्नै पार्टी दर्ता गराउन लागेका हुन् ।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दल दर्ताको निवेदन दिइएको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि विश्वकर्माले सबै कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन आफूहरूले प्रयास गर्ने दावी गरे । त्यसको लागि एमालेसँग पनि छलफल भइरहेको उनको भनाइ छ ।

‘माओवादी, नेकपा एस, नेकपा मसालसँग पनि छलफल जारी छ’ उनले भने, ‘एमालेसँग पनि हामीले छलफल गरिरहेका छौँ ।’ दलहरूसँग छलफल सकारात्मक रहेको दावी गर्दै उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यसको लिडरसिपको विषयमा बहस भइरहेको बताए । एकताको विषय कसैसँग नभाँडिएको जिकिर गर्दै उनले पार्टीको नीति, सिद्धान्त, नेतृत्वबारे छलफल चलिरहेको बताए ।

अहिले नेपाल कम्युनिष्ट पार्टीको नाममा अर्कै दल दर्ता हरेकोले कम्युनिस्ट पार्टी नेपाल दर्ता गर्न प्रस्ताव गरिएको छ । प्रतिनिधि सभाको आगामी फागुन २१ गते तय भएको निर्वाचनको लागि कात्तिक ३० गतेभित्र दल दर्ता गर्नुपर्ने तालिका रहेको छ ।

प्राप्त निवेदनउपर आयोगले अध्ययन गरेपछि निर्णय हुनेछ । प्रस्ताव गरे अनुसारको नाम पाउने वा नपाउने, अन्य विषयमा के हुने भनेर निर्णय अध्ययनपछि हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । यो सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।