राजीनामा घोषणा गरेका राप्रपाका प्रदेश सांसदले बुझे तलब र सुविधा

विराटनगर । जेनजी आनदेलनको बेला पदबाट राजीनामा घोषणा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यले प्रदेशसभा सचिवालयबाट तलब र सुविधा बु्झेका छन् ।

राप्रपाले केन्द्रीय समितिबाट भदौ २४ गते नै संघीय संसद र सबै प्रदेश संसदबाट राजीनामाको घोषणा गरेको थियो । प्रतिनिधिसभा विघटन भएकोले उनीहरुको घोषणा संघमा स्वतः लागू भएपनि प्रदेशमा भने घोषणा कार्यान्वयन नगरी तलब सुविधा बुझेका हुन् ।

कोशी प्रदेशसभामा सभामुख अम्बरबहादुर विष्टसहित राप्रपाका ६ जनै सांसदले भदौ र असोज महिनाको तलब सुबिधा बुझेका हुन् । कोशी प्रदेशसभाका कार्यबहाक प्रदेशसभा सचिव गौतमराज अमात्यले भदौको दशैैं अगाडि र असोजको तिहार अगाडि तलब सुविधा सबै सांसदको खातामा गइसकेको जानकारी दिए ।

प्रदेश सांसदले विज्ञप्तिमा राजीनामा दिएको भएपनि प्रदेशसभामा राजीनामा नआएको आमात्यको भनाइ छ । ‘कोही पनि सांसदले राजीनामा दिनुभएको विषय हामीकहाँ आएको छैन,’ उनले भने, ‘राजीनामा नआएपछि तलब भत्ता रोक्ने कुरा पनि भएन । अरु विषय हामीलाई धेरै थाहा छैन ।’

जेनजी विद्रोहका क्रममा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २ दर्जन बढी युवाको ज्यान लिने गरी गोली चलाएपछि राप्रपाले भने २४ गते बैठक बसेर संघीय संसद र प्रदेशसभाका सबै सांसदले राजीनामा दिने घोषणा गरेको थियो । ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ,’ राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।

असोज १ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरुले राजीनामा लिने घोषणा गरिसकेको भएपनि औपचारिकता दिन मात्रै बाँकी रहेको बताएका थिए । ‘सांसदहरुले राजीनामा दिने घोषणा गरिसकेकै छ, त्यसलाई औपचारिकता दिनमात्रै बाँकी हो । सबै साथीहरुले प्रक्रिया पु¥याएर दिइहाल्नुहुन्छ,’ उनले भनेका थिए ।

राप्रपाले प्रदेश खारेजीको माग गर्दै आएको छ । यद्यपि प्रदेशको सांसद, मन्त्री र सभामुखसमेत भएर तलब भत्ता बुझेको भन्दै राप्रपाकै कतिपयले आलोचनाको विषय बनाउने गरेका छन् । राजीनामाको घोषणा गरिसकेर राजीनामा नदिनु पार्टी निर्णयको पालना नभएको सो पार्टीका कार्यकर्ता बताउँछन् ।

‘राजीनामा दिएको घोषणा गरेपछि त्यसको कार्यान्वयन हुनुपर्छ,’ राप्रपा मोरङका नेता पर्शु सुवेदी भन्छन्, ‘प्रदेशका सांसदले त झन् छिटो दिनुपर्छ ।’ कोशी प्रदेशकी राप्रपा सांसद सविना बजगाईले भने जेनजी आन्दोलनको क्रममा आफूहरुको घर सबै जलेको भन्दै तत्काल राजीनामा नदिने बताइकी थिइन् । ‘पार्टीले विज्ञप्ति निकाले पनि हामीले अहिलेसम्म राजीनामा बुझाएका छैनौँ,’ उनले भनिन्, ‘हाम्रा घरहरु क्षतिविक्षत भएका छन्, तोडफोड र आगजनी भएको छ । गरगहना सबै लुटिएको छ । अहिले घर मात्रै ठाडो छ, अरु केही छैन । मेरो घरमा पनि लुटपाट भयो । केही समय संसदमा बस्नुपर्छ कि भन्ने पनि छ हाम्रो ।’

कोशी प्रदेशमा सभामुखबाहेक राप्रपाका ५ जना सांसद छन् । जसमा भक्तिप्रसाद सिटौला, सविना बजगाई, गोपालबहादुर विश्वकर्मा, निमसरी राजवंशी र प्रेमराज थामसुहाङ हुन् ।

यस्तै राप्रपाले कोशी प्रदेशका मात्रै नभएर सातै प्रदेशका गरी २८ जना प्रदेश सांसदहरुको राजीनामा घोषणा गरेको थियो । कोशीमा सभामुखसहित ६ जना सांसद रहेको राप्रपाको बागमतीमा १३ जना, लुम्बिनीमा ४ जना, गण्डकीमा २ जना, मधेशमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा पनि १ जना सांसद छन् । बागमतीका सभामुख भुवनबहादुर पाठकले भने असोज १ गते नै राजीनामा दिइसकेका छन् ।

कार्तिक ११, २०८२, दिउँसोको ०२:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर