सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा हिमपात भएको छ ।
सोमबार साँझदेखि नै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात भइरहेको छ ।
खुम्बु क्षेत्रमा हिमपातका कारण पर्यटक प्रभावित भएका छन् । सगरमाथा क्षेत्रको भ्रमणमा त्यस क्षेत्रमा पुगेका पर्यटक होटलभित्रै बस्न बाध्य छन् । हिउँ परेका कारण स्वदेशी तथा विदेशी पर्यटकहरू होटलभित्रै सुरक्षित स्थानमा बसेका हुन् ।
नाम्चे बजारमा भने सोमबारदेखि नै पानी परिरहेको छ । तेङ्बोचे, लबुचे र सगारमाथा आधार शिविरमा हिउँ परिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । अहिले माथिल्लो क्षेत्रमा ९ सयको हाराहारीमा विदेशी पर्यटक भ्रमणमा रहेको बताइएको छ ।
यो सिजनको उत्तरार्धमा घुम्न आएका पर्यटकलाई हिमपातका कारण प्रभावित बनाएको हो । माथिल्लो क्षेत्रमा परेको हिमपातले पर्यटन उद्योग र मानिस तथा पशु चौपाया सबैलाई प्रभावित बनाएको स्थानीय पासाङ शेर्पाले बताए । खुम्बु क्षेत्रमा भोलिदेखि २ दिन मौसम सफा रहने र ३ दिनपछि फेरि हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा देशभरको मौसममा बदलाव आएको हो । हिजो रातिदेखि अन्नपूर्ण बेसक्याम्प मुक्तिनाथ लगायतका क्षेत्रमा पनि हिमपात भइरहेको छ ।
मंगलबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलयत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ । गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म कोशी र मधेश प्रदेशमा भारी वर्षाको संभावना रहेको मौसमविद्हरुले बताउँदै आएका छन् ।

