धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियमविपरीत निजी क्लिनिक सञ्चालन गरेका तीन चिकित्सकलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले मेडिसिन विभाग प्रमुख डा.रविन मास्केसहितलाई स्पष्टिकरण सोधेका हुन् ।
‘तीन दिनभित्र स्पष्टीकरण नआए कानुन अनुसार कारबाही हुनेछ, नियम विपरीत काम गर्ने कसैलाई छुट दिइँदैन’ संग्रौलाले भने । प्रतिष्ठानमा पूर्णकालीन सेवाका डा.मास्केले धरान–१८ बुद्ध चोक एमसी क्याफे माथिल्लो तलामा ‘तिरुपति रिसर्च एण्ड डायग्नोस्टिक सेन्टर’ सञ्चालन गरेका छन् ।
डा.मास्केसँगै डा.अभिनास राई र डा.रञ्जित दास पनि क्लिनिकमा संलग्न संलग्न छन् । डा.मास्केले बिपीमा उपचारका लागि आएका बिरामीलाई क्लिनिकमा बोलाउने, त्यहाँ उपचार गर्ने र ल्याब तथा मेडिकल सामग्री खरिद गर्न लगाउने गरेको गुनासो बिरामीहरूले गर्दै आएका छन् ।
उदयपुर रामपुरकी भगवती कार्कीले थाइराइडको बिरामी भएकोले फलोअपमा आइराख्नुपर्ने बाध्यता रहेकोमा बीपीमा डाक्टर भेट्न नसकेपछि मास्केकै सिफारिसमा क्लिनिकमा गएको बताएकी थिइन् । बीपीमा जस्तो लाइन बस्न नपर्ने भएकाले झन्झमुमुक्त हुन क्लिनिकमै आउने उनको भनाइ छ ।
मास्के बिहान करिब १० देखि ११ बजेतिर मात्र प्रतिष्ठानमा उपस्थित हुने र ड्युटी अवधिमै क्लिनिक पुग्ने गरेका थिए । बिपी प्रतिष्ठानको नियमावली २०५५ अनुसार, प्रतिष्ठानका शिक्षक वा कर्मचारीले आफ्नो कार्यालय सम्बन्धित काम बाहेक प्राइभेट प्राक्टिस, ट्युसन वा कुनै वैतनिक अवैतनिक काम गर्न पाउँदैन ।
डा.मास्केले प्रतिष्ठानको नियमावली विपरित गेटभन्दा करिब २०० मिटर अगाडि निजी क्लिनिक सञ्चालन गरेपनि यसअघि कुनै कार्वाही भएको छैन । रजिष्ट्रार संग्रौलाका अनुसार, विभागीय प्रमुख डा.मास्केले मङ्गलबारभित्र स्पष्टीकरण नदिए कानुन बमोजिम कारबाही हुनेछ ।

