विराटनगर । असोज २१ गते घरैबाट बेपत्ता भएकी मोरङको लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको शव शुक्रबार जंगलभित्र विभत्स अवस्थामा भेटिँदा सुनसरीकी एक बालिका अझै बेपत्ता छन् ।

सुनसरीको इनरुवा–५ बलाहास्थित १५ वर्षीया भावना पाण्डे अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पाण्डे पनि लक्ष्मीपुजाको दिनदेखि बेपत्ता छन् । भैलो खेल्न भन्दै निस्किएकी उनी अझैसम्म घर फर्किएकी छैनन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेका अनुसार बेपत्ता किशोरीको खोजी भएपनि पत्तो लागेको छैन ।

उनको हुलियासहित प्रहरीमा खोजतलासका लागि जानकारी गराइएको आफन्तले बताएका छन् । पाण्डे स्थानीय सूर्यकिरण एकेडेमीको कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।

एक साताअघि मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेकी १४ वर्षीया आयुषा धिमाल हराएकी थिइन् । मामाघर कानेपोखरी–५, दुम्रीघाटबाट हिँडेकी उनलाई भने प्रहरीको टोलीले उनलाई विराटनगर बरगाछीस्थित एक होटलबाट उद्धार गरेको थियो ।

यस्तै, मोरङको केराबारीबाट भाइटिकाको दिन हराएकी १४ वर्षीया रूका मगर पनि इटहरीमा भेटिएकी छन् । उनी गत बुधबार केराबारी–५ रामपुरबाट हराएकी थिइन् ।

उनलाई इलाका प्रहरी कार्यालय इटहरीले फेला पारेर माया घरमा आश्रयका लागि बुझाएको थियो । माया घरले पनि इलाका प्रहरी कार्यालय केराबारीको रोहबरमा परिवारलाई जिम्मा लगाएको जनाएको छ ।

दशैंको अन्तिममा हराएकी लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको शुक्रबार शुक्रबार बेलबारी–चिसाङ साझेदारी वनभित्र शव भेटियो । स्थानीय महिलाले घाँस काट्ने क्रममा क्षतविक्षत शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउको र शरीर छुट्टिएको, कपडा च्यातिएको अवस्थामा शव फेला परेको छ । परिवारले कपडा, चप्पल र घडीका आधारमा शव पहिचान गरेका थिए ।

झापा बुद्धशान्ति की १३ वर्षीया बालिका सन्ध्या गुप्ता शनिबार दिउँसोदेखि बेपत्ता भएकी थिइन् । घरबाट दिउँसो एकाएक बेपत्ता भएकी गुप्तालाई स्थानीय तथा प्रहरीको सहयोगमा शनिवार राति १० बजे काँकडभिट्टाबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले शवको आधिकारिकता प्रमाणित गर्न डीएनए परीक्षण र मृत्युको कारण पत्ता लगाउन फरेन्सिक जाँचका लागि पठाएको छ । रिपोर्टपछि सत्यतथ्य बाहिर आउने मोरङ प्रहरीका एसपी कवित कटुवालले बताए ।

पछिल्लो समयमा बालिका बेपत्ता हुने क्रम बढेको छ । सामाजिक सञ्जाल र मोबाइलको प्रयोगको कारण अपरिचितसँग प्रेम, लोभलालच र प्रलोभनमा परेर बालिका बेपत्ता हुने र त्यसपछि बलात्कार तथा हत्यासमेतका घटना भएको प्रहरीले जनाएको छ ।

यस्ता घटना रोक्न सामाजिक सञ्जालको निगरानी, परिवारभित्र संवाद र सुरक्षा सचेतनामा जोड दिनुपर्ने प्रहरीको सुझाब छ ।