विराटनगर । जब पार्टी फुट्छ, नेताले पद गुमाउला, कार्यकर्ताले कित्ता फेर्ला । तर, मञ्जु सापकोटाजस्ता सहिद परिवारले आफ्नो सिङ्गो इतिहास, वर्तमान र भविष्य नै टुक्रिएको महसुस गर्छन् । हरेक विभाजन र हरेक राजनीतिक स्वार्थको लडाइँले उनीहरूको छातीमा रहेको पुरानो घाउलाई फेरि चिथोर्छ र रगत बगाउन थाल्छ । यो कथा त्यही रगत र आँसुले लेखिएको एउटा परिवारको हो, जसले एउटा सुन्दर भविष्यको सपना देख्दा आफ्नो सिङ्गो परिवारलाई नै क्रान्तिको वेदीमा होम्यो ।
संखुवासभाको माम्लिङ गाउँमा पुण्यप्रसाद र मुना सापकोटाको सानो परिवार थियो— एक छोरा योगेन्द्र, र तीन छोरीहरू मञ्जु, सीता र यशोदा । तर, देशमा चलेको ‘जनयुद्ध’को राँकोले यो परिवारको हाँसो र खुसी सधैँका लागि बल्झिरहने घाउ बनाइदियो । दुई वर्षभन्दा कमको अन्तरालमा यो घरका तीन खम्बा ढले । जसमा थिए बुबा पुण्य, छोरा योगेन्द्र र छोरी यशोदा ।
२०५६ साल वैशाख १७ गते क्रान्तिको बलिबेदीमा होमिएका परिवारको एक्लो छोरा थिए योगेन्द्र । २०४१ साल फागुन ३ गते जन्मिएका उनको उमेर त्यसबेला १५ पुगेर १६ मात्रै लागेको थियो ।
त्यसको २ वर्षपछि अर्थात् २०५८ माघ १४ गतेको दिन उनका लागि कालोरात बनेर आयो । २०५८ साल माघ १० गते पाँचथरको गोपेटारमा जनमुक्ति सेनाले आक्रमण गर्यो । त्यहाँ घाइते भएकाहरुलाई तेह्रथुमको बगालेमा उपचारका लागि सेल्टर बनाइयो । त्यही सेल्टरमा २०५८ माघ १४ गते शाही सेनाले घेरा हाल्यो र २१ जनाको हत्या गर्यो । त्यही २१ जनामध्ये एक थिए योगेन्द्र सापकोटा । १७ वर्षको उमेरमा क्रान्तिमा होमिएका योगेन्द्र ढलेको खबर घर परिवारमा पुग्यो । छोरा ढलेको खबरले आमा मुना बेहोस भइन् । जसोतसो परिवार छोराका शोकबाट तङ्ग्रिदै थियो ।
छोराको बलिदान भएको तीन महिना पनि नबित्दै २०५९ साल वैशाख ९ गते, संखुवासभाको माङसिमामा भएको भिडन्तमा बुबा पुण्यप्रसाद सापकोटाको पनि शाही सेनाको गोलीले ज्यान लियो । घरको मूल खम्बा ढल्यो । मञ्जु र उनका दिदीबहिनीहरू टुहुरा भए । त्यसबेलाको घटलाई सम्झदै मञ्जु सम्झन्छिन्, ‘जतिखेर हामीलाई सहादतको खबर आयो, हामीसँग परम्पराअनुसार क्रिया गर्ने खर्चसमेत थिएन । जोसँग आश्रित थियौं, उसैलाई गुमाएपछि हाम्रो त हातमुख जोड्नै समस्या भयो ।’
बुबा र दाजुको माओवादी य्ुद्धमा देहबसान भएपनि छोरी यशोदा सापकोटा कमरेड सज्जिता भनेर सोही युद्धमा लामबद्ध थिइन् । तर, दुर्भाग्य यो परिवारलाई शोकले छोडेन । २०६० साल पुस ७ गते संखुवासभा सिद्धपोखरीको एक सेल्टरमा उनलाई पनि सेनाले घेरा हालेर गोली हानी हत्या ग¥यो । दुई वर्षको छोटो अवधिमा एउटी आमाले आफ्नो श्रीमान्, छोरा र छोरी गुमाइन् । मञ्जुले आफ्ना बुबा, दाजु र दिदी गुमाइन् ।

२०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भयो, देशमा गणतन्त्र आयो । तर, सापकोटा परिवारजस्ता हजारौं परिवारको जीवनमा कहिल्यै शान्ति आएन । मञ्जु भन्छिन्, ‘हामीले थाल थापेर भिख मागेका होइनौं । हामीलाई त केवल अभिभावक चाहिएको थियो । हामी छौं है, के गर्दैछ्यौ ? भनेर सोधिदिने एउटा अभिभावक चाहिएको थियो । तर, त्यही सामान्य कुरामा पनि हाम्रो पार्टी चुक्यो ।’
उनको पीडा त्यतिमा मात्र सीमित छैन । बिहे गरेर गएपछि राज्यको कानुनले उनलाई सहिद परिवारसमेत मान्दैन । ‘मैले अभिभावक गुमाएकै कारण पढ्न पाइनँ । विस्थापित हुनु पर्यो । तर, बिहे गरेर गएपछि म सहिदको परिवार नै होइन भनेर कानुनले भन्दा कति दुख्छ होला ?।’ उनको आवाजमा आक्रोश र पीडा एकसाथ मिसिन्छ ।
आज जब उनी जेनजी विद्रोहमा मारिएका युवाहरूको खबर सुन्छिन्, उनी आफ्नै विगत देख्छिन् । ‘त्यतिखेर हामी पनि त अहिलेका जेनजी उमेरकै थियौं । उनीहरूको पीडा म बुझ्छु । तर, डर लाग्छ, कतै उनीहरूको बलिदान खेर जाने त होइन ?।’
उनी नेतृत्वको विलासी जीवनशैली र भ्रष्टाचार देख्दा झनै मर्माहत हुन्छिन् । ‘हाम्रा नेताहरू सर्वहाराको कुरा गर्थे, तर आज उनीहरूको जीवनशैली सामन्तीको जस्तो छ । यस्तो देख्दा लाग्छ केपी ओली, प्रचण्ड र देउवामा के नै फरक छ र ?,’ उनी भन्छिन्, ‘राजनीतिक योगदान, दृष्टिकोण र विचारमा केपी ओली र शेरबहादुर देउवा भन्दा प्रचण्ड फरक हो । तर, विलाशिताको कुरा गर्दा फरक देखिँदैन ।’ उनको एउटै आग्रह छ, ‘पार्टी फुट्नुअघि, कुनै स्वार्थको खेल खेल्नुअघि, एकपटक हामीजस्ता परिवारलाई सोध्ने गर । जसको रगतमाथि टेकेर आज तपाईंहरू यो ठाउँमा हुनुहुन्छ, कम्तीमा उनीहरूको भावनाको सम्मान गर्न सिक्नुहोस् ।’
पुण्यप्रसाद, योगेन्द्र र यशोदाको नाम पुस्तकका पानामा ‘सहिद’ भनेर लेखिएको छ । तर, उनीहरूको वास्तविक कथा ती अक्षरहरूमा होइन, छोरी मञ्जु र आमा मुनाको कहिल्यै नओभाउने आँसु र मुटुमा बसेको गहिरो घाउमा जीवित छ । यो कथा एउटा परिवारको मात्र होइन, एउटा सिङ्गो पुस्ताको हो । जसले सुन्दर भविष्यको सपना देख्यो, तर पीडाले अहिलेसम्म छोड्न सकेन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।