विराटनगर । १२ कक्षा सकेर ब्याचलर पढ्ने सपना बुन्दै गरेका झापा बुद्धशान्ति–६ का अनिकेत शर्मा चम्लागाईंको दैनिकी विगत डेढ महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालको बेडमा बितिरहेको छ । जेनजी आन्दोलनमा सहभागी हुँदा गत भदौ २३ गते प्रहरीको गोली लागेर घाइते भएका उनी आफ्नो भविष्य र देशको अवस्थालाई लिएर चिन्तित छन् ।

भदौ २३ गते देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिँदा उनको जीवनले एउटा दर्दनाक मोड लियो । ‘हामीले राम्रो माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौँ,’ अनिकेत भन्छन्, ‘एक्कासि प्रहरीले गोली चलाउन थाल्यो, र एउटा गोली मलाई लाग्यो ।’

आन्दोलनमा सँगै रहेका साथीभाइले उनलाई तत्कालै बी एण्ड सी अस्पताल पु¥याएका थिए । तर, अवस्था गम्भीर भएपछि थप उपचारका लागि नोबेल अस्पतालमा ल्याइयो । यहाँ उनको शरीरबाट गोली निकाल्न धेरै पटक शल्यक्रिया गरिएको छ ।

यो घटनाले उनको पढाइमा पूर्णविराम लगाइदिएको छ । १२ कक्षाको एउटा विषयमा ‘ब्याक पेपर’ दिन बाँकी थियो, तर अब त्यो परीक्षा नै छुटेको छ । ‘अब त्यो त छुटिसक्यो, अर्को वर्ष पाइन्छ कि भन्ने आशा छ’, उनी निराश हुँदै सुनाउँछन् ।

सानैदेखि हजुरबुबा उदयचन्द्र कोइरालाको संरक्षणमा हुर्किएका अनिकेत परिवारका लागि एउटा आशा थिए । उनका हजुरबुबा नातिको अवस्थाबारे बोल्दा भक्कानिन्छन् । ‘सानैदेखि मैले नै हुर्काएको हुँ,’ आँसु पुछ्दै उनी भन्छन्, ‘आन्दोलनमा नजा भन्न सकिएन, तर जोगिएर बस्नु भनेको थिएँ । साँझ ८ बजे मात्रै उसलाई गोली लाग्यो भन्ने खबर पाएँ ।’

अनिकेतको उपचारमा अहिलेसम्म कति खर्च भयो भन्ने एकिन छैन । तर, अहिलेसम्म औषधिमा मात्रै ४ लाखभन्दा बढीको बाँकी भएको छ । जुन रकम बढ्दो क्रममा छ । त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता परिवारलाई छ । ‘अहिले हामी अस्पतालमा छौँ, घाउको उपचार भइरहेको छ । तर डिस्चार्ज भएर घर गएपछि के हुन्छ ?,’ अनिकेत प्रश्न गर्छन्, ‘भोलि संक्रमण भएर खुट्टा नै काट्नुपर्ने अवस्था आयो भने ? हाम्रो जीविकोपार्जन, पढाइ र भविष्यको ग्यारेन्टी कसले लिन्छ ?।’

उनी र उनका हजुरबुबा दुवैको एउटै माग छ ‘राज्यले घाइतेहरुको पूर्ण उपचारको जिम्मा लिनुपर्छ र उनीहरुको शिक्षा तथा रोजगारीको सुनिश्चितता गर्नुपर्छ ।’ ‘ऊ मात्र होइन, देशका सम्पूर्ण घाइते युवाहरुको भविष्यको जिम्मा राज्यले लिनुपर्छ । ७६ जना सहिदको रगत खेर जानु हुँदैन,’ हजुरबुबा कोइराला भन्छन् ।

अस्पतालको बेडबाटै देशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका अनिकेत जेनजी अभियन्ताहरुबीच देखिएको मनमुटावप्रति दुःखी छन् । ‘हामी सबै मिलेर देश बनाउन उत्रिएका हौँ, तर अभियन्ताहरु नै आपसमा झगडा गर्नुभएन,’ उनी भन्छन् ।

सरकार फेरिए पनि देशको अवस्था फेरिनेमा उनी ढुक्क छैनन् । उनको माग स्पष्ट छ, ‘शासन व्यवस्था जेसुकै होस्, भ्रष्टाचारको अन्त्य हुनुपर्छ र देशको मुहार फेरिनुपर्छ । जनताप्रति सरकार जवाफदेही बन्नुपर्छ ।’

अहिले अनिकेतजस्ता सयौँ युवाहरु शारीरिक र मानसिक पीडा बोकेर अस्पतालको बेडमा छन् । उनीहरुको एउटै प्रश्न छ – देश बदल्न सडकमा उत्रिँदा के उनीहरुले आफ्नो सुन्दर भविष्यलाई नै दाउमा लगाउनुपरेको हो ? यसको जवाफ नयाँ सरकार र राज्यले दिनैपर्छ ।

घाइते अनिकेतलाई अस्पतालमा भेटेपछि जेनजी आन्दोलनकी अभियान्ता किशोरी कार्कीले सामाजिक सञ्जालमार्फत सरकारको संवेदनहीनतामाथि आक्रोश व्यक्त गरेकी छन् । उनले घाइतेको तस्बिरसहित पीडा र प्रश्न दुवै पोखेकी छन् ।

‘पीडित पक्षका अभिभावक आज पनि न्यायको लागि आवाज उठाइरहेका छन्, तर प्रश्न उठ्छ — सरकार किन मौन छ ? कुर्सीमा बसेपछि पीडितका आँसु हेर्ने साहस किन हरायो ? यदि आँसु पुछ्ने हिम्मत छैन भने, त्यो कुर्सीमा बस्ने साहस होइन, लाज महसुस गर्नुस् ।’

कार्कीले अनिकेतजस्ता युवाहरू परिवर्तनका प्रतीक भएको र उनीहरूको त्यागलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् । उनले घाइतेहरूको दीर्घकालीन उपचार, शिक्षा र पुनस्र्थापनाको माग गरेकी छिन् । ‘सरकारले यस्ता घाइते र पीडित युवाको दीर्घकालीन उपचार, उचित शिक्षा र पुनस्र्थापनाको व्यवस्था तुरुन्त गर्न जरुरी छ । अनिकेत मात्र होइन, हरेक पीडित जेनजी युवा न्याय र सम्मानका हकदार छन्,’ उनले लेखेकी छिन् ।

गत २३ गते देशमा व्याप्त भ्रष्टाचारविरुद्ध सडकमा उत्रिँदा अनिकेतको खुट्टामा गोली लागेको थियो । १२ कक्षा सकेर ब्याचलर पढ्ने सपना बोकेका उनको पढाइ र भविष्य दुवै अनिश्चित बनेको छ ।