विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–२ बाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले टोलीले मोटरसाइकलमा सवार मोरङको कटहरी गाउँपालिका–१ का ३५ वर्षीय निरज राजवंशीको साथबाट प्रतिबन्धित औषधि बरामद गरेको हो ।
प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले शंकास्पद रूपमा आउँदै गरेको को २१ प २८३३ नम्बरको मोटरसाइकललाई चेकजाँचको लागि प्रहरीले रोक्दा मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति फरार भएका थिए । चालकलाई नियन्त्रणमा लिई जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको जेब्रा झोलाबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिएकी छन् ।
चालक राजवंशीले मोटरसाइकलमा बोकेको जेब्रा झोलाभित्र १५ हजार ट्याब्लेट स्पासपेन नामक प्रतिबन्धित औषधि भेटिएको थियो । राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि रंगेली प्रहरीको हिरासतमा राखिएको छ ।
राजवंशीमाथि कारबाही अघि बढाउने विषयमा औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान तथा सोधपुछका क्रममा राजवंशीले उक्त औषधि सुनवर्षी नगरपालिका–६ स्थित न्यू रेखा मेडिकल हलबाट ल्याएको प्रहरीलाई बताएका छन् ।
मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति उक्त मेडिकल हलका सञ्चालक कार्तिक दास रहेको प्रहरीले पत्ता लगाएको छ । दास औषधिसहितको जेब्रा बोकेर मोटरसाइकलको पछाडि बसेका थिए । मोटरसाइकल रोक्नसाथ उनी फरार भएको र चालक मात्रै पक्राउ परेको प्रहरीले जनाएको छ ।
दासले मोरङको उर्लाबारीमा पुर्याउनका लागि भनेर आफ्नो मेडिकलबाट प्रतिबन्धित औषधि लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलबाट हामफालेर उनी भागेपछि प्रहरी उनको मेडिकल हलमा समेत पुगेको थियो । तर, मेडिकल नै बन्द गरेर उनी फरार भएको प्रहरीले जनाएको छ ।
यो घटनाले औषधि पसलबाटै प्रतिबन्धित औषधिको किनबेच हुने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । प्रतिबन्धित औषधिको अनधिकृत बिक्री र वितरण हुने गरेको थाहा भएसँगै प्रहरीले औषधि पसलहरुमा निगरानी बढाएको छ ।

