विराटनगर । नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकताको सम्भावनालाई लिएर राजनीतिक वृत्तमा तीव्र वहस र छलफल चलिरहेको छ । नेकपा (माओवादी केन्द्र) ले शुक्रबार साँझ एक प्रेस नोट जारी गर्दै विभिन्न समाजवादी दलहरू र अन्य वामपन्थी तथा प्रगतिशील समूहहरूसँग नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता र संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयमा घनिभूत छलफल जारी रहेको स्पष्ट पारेको छ । यद्यपि, कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय वा टुंगो लागिसकेको छैन ।

विशेषगरी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुने भन्ने विषयमा विभिन्न सञ्चार माध्यमहरूमा समाचारहरू प्रकाशित भएपछि माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले यसबारे स्पष्टीकरण दिएको हो । सचिवालयका अनुसार, एकताका लागि विभिन्न पक्षहरूसँग सघन छलफल भइरहे पनि कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको बताइएको छ ।

प्रेस नोटमा भनिएको छ, ूविभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र) को ठहर छ ।’ इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहेको उल्लेख छ ।

आधिकारिक स्रोतलाई उद्धृत नगरी पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, नेतृत्व लगायतका विषयमा अनुमानित समाचारहरू प्रकाशित हुँदा दुवै पार्टीका कार्यकर्ताहरूका बीचमा भ्रम सिर्जना हुन पुगेको थियो । यस स्पष्टीकरणले कम्युनिष्ट पार्टीहरूबीचको एकताको प्रयास जारी रहेको तर यसले ठोस रूप लिन अझै बाँकी रहेको सन्देश दिएको छ । राजनीतिक पर्यवेक्षकहरूले यसलाई आगामी दिनमा नेपाली राजनीतिमा वामपन्थी शक्तिहरूबीच नयाँ समीकरण बन्ने सम्भावनाको संकेतका रूपमा हेरेका छन् ।