पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने एमाले निकट युवा संघका सोनम थेबे पक्राउ

विराटनगर ।‘जेन–जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको बुढानिलकण्ठ भंगालस्थित घरमा आगजनी गरेको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका कार्यकर्ता सोनम थेबे पक्राउ परेका छन्।

भण्डारीको घर जलाउन संलग्न रहेको देखिएपछि प्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौंको धुम्बारहीमा बसोबास गर्दै आएका ३८ वर्षीय थेबे पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार उनी गत भदौ २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घरमा भएको तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न रहेका थिए। प्रहरीका अनुसार उनी चक्रपथ–महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थिए। साथै, धुम्बारही क्षेत्रमा रहेका व्यवसायीलाई धम्की दिँदै रकम असुल्ने, मिटरब्याजमा लगानी गर्ने र होटल–रात्री व्यवसायीहरूबाट हप्ता उठाउने कार्यमा संलग्न थिए।

उनी गुण्डा नाइके चक्रे मिलन समूहसँग आबद्ध रहेको बताइएको छ। प्रहरीले यसअघि पनि उनलाई गुण्डागर्दी, मिटरब्याज र ठगी आरोपमा खोजी गरेको थियो। तर, नेकपा (एमाले) का नेताहरूको दबाबका कारण पक्राउ प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीको ‘सुरक्षा चुनौती दिन सक्ने’ १३१ जना गुण्डाको सूचीमा पनि थेबे परेका थिए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय अपराध महाशाखा तथा काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई उक्त सूचीसहित परिपत्र गर्दा उनको नाम समावेश गरिएको थियो।

प्रहरीका अनुसार उनी वैदेशिक रोजगारका नाममा ठगीमा पनि संलग्न थिए। दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार रुपैयाँ ठगेको अभियोगमा उनलाई ५ भदौ २०८२ मा पक्राउ गरिएको थियो। तर, त्यस प्रकरणमा पनि योगेश भट्टराईसहित ताप्लेजुङका एमाले नेताहरूको दबाबका कारण थप अनुसन्धान रोकिएको बताइएको छ।

थेबे एमाले र राष्ट्रिय युवा संघ नेपालका सक्रिय कार्यकर्ता हुन्। उनले पछिल्ला वर्षमा काठमाडौंमा विभिन्न राजनीतिक कार्यक्रम, युवा भेला र जुलुसमा सहभागीहरू परिचालन गर्दै आएका थिए। प्रहरीले उनलाई पुनः विस्तृत अनुसन्धानका लागि हिरासतमा राखेको छ।

कार्तिक ४, २०८२, रातीको ०८:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर