विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गते भएको आगजनी घटनामा नेकपा एमालेका ओली निकटका स्थानीय नेतासमेत संलग्न रहेको खुलासा गरेका छन्।
सोमबार कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममार्फत सञ्चारकर्मी रुपेश श्रेष्ठसँग कुरा गर्दै थापाले भने, “मेरो घर जलाउन आएका मध्ये एमालेकै स्थानीय नेता पनि थिए, जो प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट थिए।”
गगनका अनुसार आन्दोलनका क्रममा प्रदर्शनकारीहरू आफ्नो घर घेर्न आइपुग्दा उनी घरमै थिए। “म सभापतिजीसँग कुरा गर्दै थिएँ, सरकार छोड्नुपर्छ भन्दै थिएँ, प्रचण्डजीसँग पनि कुरा गर्दै थिएँ। प्रदीप पौडेलसँग सरकार छोड्न फोनमा कुरा गरिरहेको थिएँ,” थापाले भने।
थापाका अनुसार आगजनीमा संलग्न व्यक्ति उनलाई टोलका, सरकारमै रहेका पुराना राजनीतिक दलका नेता थिए। उनले थपे, “ऊ आफैं सरकारमा छ। सरकारसँग रिसाएको हो भने ऊ पनि त सरकारकै हिस्सा हो। त्यसैले उसले आन्दोलनको आक्रोशको दुरुपयोग गर्यो।”
थापाले सीसीटिभी फुटेजमा आफ्नो घर जलाउन आउनेहरूलाई देखेको दाबी गर्दै अर्का एक पात्रको विवरण पनि दिए, “ऊ काभ्रेको हो, उमेरले जेनजी पनि होइन। भर्खरै बलात्कार मुद्दाबाट छुटेर आएको छ। पहिला ऊ पनि पुरानो राजनीतिक दलमै आबद्ध थियो।”
महामन्त्री थापाले पुरानामात्र होइन, नयाँ राजनीतिक दलका नेताहरू पनि आगजनी र तोडफोडमा सामेल भएको बताए। उनका शब्दमा, “नयाँ दलका जिम्मेवारीमै रहेका साथीहरू समेत आएका थिए। मैले पछि उहाँहरूलाई टेक्स्ट पनि गरेको थिएँ— ‘कस्तो लाग्यो मेरो घर?’ भनेर।”
उनले भने, आन्दोलनका क्रममा धेरै युवाहरू असन्तुष्टिका कारण सडकमा उत्रिए पनि केही व्यक्तिले त्यसको गलत फाइदा उठाएर नेताहरूको घर तोडफोड र जलाउने काम गरे।
थापाले अन्तर्वार्तामा आफू र आफ्नो परिवार कसरी त्यसदिन घरबाट जोगिएर निस्किन सफल भए भन्ने बताए । उनले २३ र २४ गतेका आन्दोलन र अराजकतालाई अलग-अलग दृष्टिले बुझ्नुपर्नेमा जोड दिएका छन्। “नागरिक असन्तुष्ट छन् भन्ने कुरा सरकार र दलहरूले बुझ्न सकेनन्, यो नै हाम्रो गल्ती हो,” उनले भने।
थापाले अझै पनि डर रहेको बताउँदै भने, “मलाई अहिले पनि डर लाग्छ, तर अझै पनि सम्हाल्न सकिन्छ भन्ने लाग्छ।” उनले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन गर्न सकिने दाबी गर्दै फागुन २१ को निर्वाचनमा नयाँ नेतृत्व र बदलिएको पार्टी लिएर जाने तयारी भइरहेको बताए।