विराटनगर । गएको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको राप र ताप सेलाउँदै गर्दा, त्यस विद्रोहको अग्रपंक्तिमा उभिएका एक युवा हुन् माजिद अन्सारी ।
मोरङको धनपालथान–४ कर्सिया बजारको धुलो र माटोमा हुर्किएका यी युवाको कथा कुनै पनि सामान्य नेपालीको जस्तै संघर्षले भरिएको छ । उनको परिवारले विगत दुई दशकदेखि चलाउँदै आएको ‘चाँदनी फ्रेस हाउस’ बाट आउने आम्दानीले नै उनको काठमाडौंको कानुन पढ्ने सपनालाई जीवित राखेको छ । उनी भन्छन्, ‘हामी आफैँ काम गर्छौं, त्यसैले स्टाफ खर्च जोगिन्छ । त्यही पैसाले मेरो पढाइ चलेको छ ।’
उनको बाल्यकाल अभाव र दुःखले भरिएको थियो । ‘कतिपय अवस्थामा त म चप्पल नलगाईकनै श्री शारदा माध्यमिक विद्यालय पढ्न जान्थेँ,’ उनी आफ्नो अतीत सम्झिन्छन् । यही संघर्षको भट्टीले उनलाई देशको अव्यवस्था र असमानताप्रति सचेत बनायो । २०७४ सालमा एसइइ गरेका उनी हाल काठमाडौंको ल क्याम्पसको ब्याचलर नवौं सेमिस्टारमा अध्ययनरत छन् ।
जेठ २३ को दिन उनी हजारौं जेन्जी युवाहरूसँगै माइतीघर मण्डलामा थिए । उनको शब्दमा, त्यो दिनको आन्दोलन पूर्णतया शान्तिपूर्ण, सिर्जनात्मक र रचनात्मक थियो । ‘हाम्रो उद्देश्य गीत, नारा र कलामार्फत सरकारलाई उत्तरदायित्व र पारदर्शीताको प्रश्न सोध्नु थियो,’ उनी भन्छन् । तर, जब जुलुस नयाँ बानेश्वरतर्फ अघि बढ्यो, राज्यले आफ्नो दमनकारी अनुहार देखायो ।
उनले त्यो दमनलाई ‘राज्य–प्रायोजित नरसंहार’को संज्ञा दिँदै त्यसको सीधा जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका प्रमुखहरूले लिनुपर्ने माग गरे । उनी थप्छन्, ‘केपी ओली सरकारले कुनै बेला मधेस र थरुहट आन्दोलनमा जे गरेको थियो, त्यही दमनकारी चरित्र काठमाडौंमा यस पटक पनि देखायो । यो लोकतन्त्रमाथिको क्रूर प्रहार थियो ।’
जेठ २३ को दमनले आक्रोशित भीड २४ गते सडकमा ओर्लियो, तर त्यो दिनको घटनाक्रमले आन्दोलनको चरित्र नै बदल्यो । उनका अनुसार, त्यो दिनको हिंसा र आगजनीमा आन्दोलनका वास्तविक युवाभन्दा पनि ‘घुसपैठिया’ हरूको हात थियो । ‘संसदीय चुनावमा जनताबाट अस्वीकृत भएका र पुरानो व्यवस्था फर्काउन चाहने शक्तिहरूले हाम्रो आन्दोलनलाई कब्जा गरेर हिंसात्मक बनाए,’ उनले दाबी गरे ।
उनले यो हिंसा भड्काउन काठमाडौंका मेयर बालेन शाहको उत्तेजक फेसबुक स्टाटसले मतियारको भूमिका खेलेको उनको गम्भीर आरोप छ । ‘उहाँको स्टाटसले आगोमा घिउ थप्ने काम ग¥यो । आगो लगाउन गएको मान्छेले स्टाटस पढेर बस्दैन, भिडियो सन्देशमार्फत शान्तिका लागि अपिल गर्न सक्ने अवस्थामा पनि उहाँ चुक्नुभयो,’ उनी भन्छन् । उनले आफू र आफ्ना साथीहरूले सिंहदरबार र सर्वोच्च अदालत जोगाऔं भन्दै अभियान चलाइरहँदा अर्कोतर्फ आगजनी हुनुले घुसपैठको पुष्टि गर्ने बताए ।
आन्दोलनको जटिल मोडमा सेनाको भूमिकालाई पनि उनले नजिकबाट नियालेका छन् । सेनाले आफ्नो परमाधिपति (राष्ट्रपति) को सट्टा पृथ्वीनारायण शाहको तस्बिर प्रयोग गर्नुलाई उनले राजनीतिक संकेतको रूपमा व्याख्या गरे । ‘सेनाको काम देशको रक्षा गर्ने हो, राजनीति गर्ने होइन,’ उनी भन्छन्, ‘सेनाले आफ्नो संवैधानिक सीमा बुझ्नुपर्छ र उसको परमाधिपति राष्ट्रपति हो भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ ।’
आक्रोश र विश्लेषणमा मात्र सीमित नभई, उनले देशको प्रणालीगत सुधारका लागि ठोस र व्यावहारिक खाका पनि प्रस्तुत गरेका छन् । जसमा देशमा दुई शक्ति केन्द्रको द्वन्द्व अन्त्य गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने उनको प्रस्ताव छ । जसको कार्यकाल दुई पटकभन्दा बढी हुन नपाउने गरी संवैधानिक रूपमै किटान गर्नुपर्छ ।
अहिलेको समानुपातिक प्रणालीले नेताका ‘गुलाम’ मात्र जन्माएको भन्दै यसलाई खारेज गर्नुपर्ने उनको अर्को माग छ । यसको सट्टा, १६५ निर्वाचन क्षेत्रमध्ये लगभग आधा सिट महिला, दलित, मधेसी र अन्य सीमान्तकृत समुदायका लागि प्रत्यक्ष निर्वाचित आरक्षित कोटामा छुट्याउनुपर्ने उनको सुझाव छ । यसले वास्तविक नेता जन्माउने र समावेशितालाई पनि बलियो बनाउने उनको विश्वास छ ।
उनले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक परिषद् राजनीतिक भागबण्डाको अखडा बनेकोले यसको संरचना परिवर्तन गर्नुपर्ने बताए । साथै, न्याय परिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने सदस्यको प्रावधान हटाउनुपर्ने उनको माग छ । उनी प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रहरी, निजामती र स्वास्थ्यसम्बन्धी अधिकार तत्काल हस्तान्तरण गर्नुपर्ने र प्रदेश तथा स्थानीय तहबीच बाधा बनेको जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताउँछन् ।
आफ्ना विचारहरू प्रस्टसँग राख्दा उनले सामना गर्नुपरेको मूल्य पनि चर्को छ । सामाजिक सञ्जालमा उनलाई ज्यान मार्नेसम्मका धम्कीहरू आइरहेका छन् । ‘तेरो पनि हालत तेरो दाइ जस्तै होला,’ भन्दै उनको पारिवारिक पीडामा नुनचुक छर्किने कामसमेत भएको छ । तर, यी धम्कीहरूका बाबजुद उनी आफ्नो अडानबाट पछि हटेका छैनन् । उनका दाजुको दुई वर्ष अगाडि विराटनगरको एक क्याफेमा रहस्यमय तरिकाले मृत्यु भएको थियो ।