विराटनगर । नेपालको प्रतिष्ठित हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत राजनीतिमा प्रवेश गर्ने तयारीमा जुटेका छन् । उनी आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्ने भएका हुन् ।
बस्नेत हालै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’ बाट उम्मेदवार बन्ने भएका छन् । पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंका अनुसार, बस्नेतलाई मोरङ–३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको छ । यद्यपि, पार्टीले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी छ । ‘अहिलेसम्मको हाम्रो र उहाँको ‘वीरेन्द्र बस्नेतको’ पनि योजना त्यही नै हो,’अध्यक्ष प्रसाईंले भने, ‘हाम्रो अनौपचारिक तयारी यही हो ।’
मोरङका लागि परिचित अनुहार बस्नेतको लगानी तथा व्यावसायिक संलग्नताले स्थानीय स्तरमा उनको चर्चा हुने गरेको छ । उनको उम्मेदवारीले मोरङ क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ । गत निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मा विजयी भएका थिए र आगामी चुनावमा पनि उनै उम्मेदवार हुने चर्चा छ । अर्कोतर्फ, गत चुनावमा पराजित भएको नेकपा (एमाले)ले भने नयाँ उम्मेदवारको खोजी गरिरहेको नेताहरू बताउँछन् । गत चुनावमा एमालेबाट भानुभक्त ढकाल उम्मेदवार बनेका थिए ।
अध्यक्ष प्रसाईंका अनुसार ‘गतिशील लोकतान्त्रिक पार्टी’कुनै पनि दलसँग गठबन्धन नगरी आफ्नै एजेन्डामा आधारित भएर राजनीति गर्न स्थापना भएको हो । पार्टीले समृद्धि, समता र स्वाभिमानु लाई आफ्नो मूल उद्देश्य बनाएको छ । यो उद्देश्य प्राप्तिका लागि सुशासन, उद्यमशीलता र दिगो रोजगारीलाई मुख्य
प्रसाईंले भ्रष्टाचारमुक्त शासन, देशमा रोजगारी र सम्पत्ति सिर्जना गर्न उद्यमीहरूलाई प्रोत्साहन तथा युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न दिगो रोजगारीका अवसर सिर्जना गर्ने पार्टीको मुख्य लक्ष्य रहेको बताए ।
गतिशील लोकतान्त्रिक पार्टीले आगामी चुनावमा वीरेन्द्र बस्नेत जस्ता राजनीतिमा नयाँ तर आफ्नो व्यावसायिक क्षेत्रमा सफल र स्वच्छ छवि भएका व्यक्तिहरूलाई प्राथमिकता दिने नीति लिएको छ । ‘हाम्रो मुख्य प्रश्न उम्मेदवारले हाम्रो एजेन्डामा कसरी योगदान दिनुहुन्छ भन्ने हो । व्यक्तिको स्वच्छता र इमान्दारिता हाम्रो पहिलो शर्त हुनेछ,’ प्रसाईंले भने । उनले पुराना पार्टीमा रहेर पनि राम्रो काम गरेका र पार्टीको एजेन्डामा सहमत हुने व्यक्तिहरूका लागि पनि ढोका खुला रहने बताए ।
विगत दुई वर्षदेखि पार्टी खोल्ने तयारीमा रहेको बताउँदै प्रसाईंले निर्वाचनको मिति तय भइसकेकाले अब पार्टी गतिविधि तीव्र पारिने जानकारी दिए । यद्यपि, चुनावी तयारीको चर्चाका बीच प्रबन्ध निर्देशक बस्नेतले भने यस विषयमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।