विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ७०औं प्रहरी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै बाढीपीडित नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
केही दिनअघि केसलिया खोलामा आएको बाढीबाट प्रभावित विराटनगर १२ का बासिन्दालाई लक्षित गरी बुधबार सामुदायिक भवनमा शिविर सञ्चालन गरिएको हो ।
विराटनगरस्थित गोल्डेन हस्पिटलको प्राविधिक सहकार्यमा आयोजित उक्त शिविरमा १६० जनाभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । केसलिया खोलाको बाढी बस्तीमा पस्दा यहाँका सयौं परिवार विस्थापित भएका थिए । विस्थापितहरू स्थानीय बखरी स्कुलमा आश्रय लिएर बसेका थिए र हालसालै मात्र आफ्नो घर फर्किएका छन् । घर फर्किएपछि उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको थियो ।
यसैलाई मध्यनजर गर्दै बाढीपीडितलाई राहत पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका डा. सरोज सिंहले जानकारी दिए । उनले भने, ‘प्रहरी दिवस केवल समारोहमा मात्र सीमित नभई नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउने अवसर पनि हो । बाढीबाट प्रभावित भएका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर हामीले यो कार्यक्रम गरेका हौं ।’
शिविरमा नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक तथा गोल्डेन हस्पिटलका डाक्टर र स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो । सहभागीहरूलाई स्वास्थ्य परीक्षणपछि चिकित्सकले सिफारिस गरेका औषधिहरू पनि निःशुल्क वितरण गरिएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी दिवसका अवसरमा यस्ता विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ । यस प्रकारका कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
