विराटनगर । जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला गत भदौ २४ गते सामाजिक सञ्जालमा राजीनामाको घोषणा गरेका मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधि अहिलेसम्म काममा फर्केका छैनन् ।
आन्दोलनपछि सहज अवस्था बनेपनि बेलबारीका मेयर दिलप्रसाद राई, उपमेयर नितु थापा कोइरालासहित केही वडाध्यक्ष पनि पुगेका छैनन् । उनीहरुले पुनः काममा फर्कन सहज वातावरण बनाउन दलसँग हारगुहार गरिरहेका छन् । जनप्रतिनिधिहरू कार्यालयमा नफर्कँदा नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प छ ।
गत भदौ २३ गते ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनापछि भोलिपल्ट नगरपालिका कार्यालयसहित केही वडा कार्यालयहरूमा आगजनी भएको थियो । त्यसपछि मेयर राई, उपमेयर कोइरालालगायत अधिकांश वडा अध्यक्षहरूले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए । तर, त्यो घोषणा सामाजिक सञ्जालमै सीमित रह्यो ।
राजीनामा घोषणा गरेका उनीहरूले न त औपचारिक प्रक्रिया पूरा गरे, न त कार्यालयमा हाजिर भएर आफ्नो कर्तव्य पूरा गरे । एक महिनादेखि जनप्रतिनिधिविहीन हुँदा नगरपालिकाको काम अबरुद्ध छ । कर्मचारीहरू कार्यालयमा आएर जलेका भवन सरसफाइ गरेर फर्कनेबाहेक कुनै नीतिगत काम गर्न सक्ने अवस्थामा छैनन् ।
जनप्रतिनिधिको अनुपस्थितिले नगरको विकास र प्रशासनिक काम पूर्ण रूपमा प्रभावित भएको छ । जनप्रतिनिधि नहुँदा जलेको भवन पुनर्निर्माणको काम सुरु हुन सकेको छैन ।
सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका ती जनप्रतिनिधिहरू अहिले पुनः काममा फर्कन राजनीतिक दलको आड खोजिरहेका छन्। उनीहरूले सहज वातावरण बनाउन आग्रह गरेपछि नेपाली काँग्रेस र एमालेले त्यसकोक पहल गरेका छन् । मेयर राई एमालेबाट र कोइराला नेपाली काँग्रेसबाट निर्र्वाचित जनप्रतिनिधि हुन् ।
मंगलबार बसेको दलहरुको बैठकले जनप्रतिनिधिलाई काममा फर्कन आह्वान गर्दै संयुक्त विज्ञप्ति निकाल्ने सहमति गरेको एमाले बेलबारी अध्यक्ष शंकर गुरुङले बताए । जनप्रतिनिधिले सहज वातावरणको माग गरेपछि यो पहल गरिएको उनको भनाइ छ ।
नेकपा (एस) बेलबारी अध्यक्ष भूपाल बस्नेतले बैठकमा सर्तसहित समर्थन गरेको बताए । जेनजी आन्दोलनको म्यान्डेट सुशासन कायम गर्ने भएकोले त्यही म्यान्डेटभित्र रहेर नगरपालिकाभित्रका बेथिति र भ्रष्टाचार रोक्ने प्रतिबद्धता जनाए काममा फर्कन सघाउने बताएको उनको भनाइ छ ।
बेलबारीमा एमाले र कांग्रेसका जनप्रतिनिधि छन् । सोमबार साँझ एमाले, कांग्रेसका नेता र जनप्रतिनिधिको बैठक बसेको थियो । सो बैठकमा जनप्रतिनिधिहरूले “गणतन्त्रप्रति आस्था राख्ने दलहरूले संयुक्त विज्ञप्ति निकाले काममा फर्कन लाज मान्दैनौं” भनेपछि मंगलबार सर्वदलीय बैठकको आह्वान गरिएको थियो ।
अधिकांश जनप्रतिनिधि काममा फर्कन इच्छुक देखिए पनि वडा नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदी भने आफ्नो अडानमा कायम छन् । उनले कार्यपालिका बैठकमा लिखित राजीनामा दिने अडान दोहोर्याएका छन् ।
आफू लिखित राजीनामा दिने र काममा नफर्कने उनले बताएका छन् ।
एमाले जिल्ला सदस्यसमेत रहेका सुवेदीको यो अडानले अन्य जनप्रतिनिधिलाई थप संकटमा पारेको छ। अहिले उनलाई मनाउने प्रयास भइरहेको एक नेताले बताए । वडा नं. ६ का अध्यक्ष टेकबहादुर राई भने सुरुदेखि नै राजीनामाको हल्लामा सामेल भएका थिएनन् ।
जनताको भोटबाट निर्वाचित जनप्रतिनिधिहरूले संकटको बेला नगरलाई नेतृत्व दिनुको सट्टा सामाजिक सञ्जालमा क्षणिक सहानुभूतिको लागि राजीनामाको नाटक रचेको भन्दै आलोचना भइरहेको छ । एक महिनापछि आफ्नो राजनीतिक भविष्य संकटमा देखेपछि दलको छाता ओढेर फर्कन खोजेको भन्दै उनीहरूमाथि चर्को आलोचना हुन थालेको छ ।
केही वडाअध्यक्षहरू भने काममा फर्किसकेका छन् । दलहरूले संयुक्त आव्हान गर्ने सहमति गरेपछि बुधबारका लागि कार्यपालिका बैठक बस्ने सूचना आएको छ । तर, सर्ने सम्भावनासमेत रहेको एक वडा अध्यक्षले बताए ।
मेयर राई नेकपा (एमाले) प्रदेश कमिटी सदस्य हुन् भने उपमेयर थापा नेपाली कांग्रेस बेलबारीकी उपसभापति हुन् । दुवैले पार्टीबाट पनि राजीनामाको घोषणा गरेका थिए ।