बालेन साह र सुधन गुरुङविरुद्ध अर्को जाहेरी प्रहरीमा

विराटनगर । गत भदौ २३ र २४ गतेको घटनालाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा अर्को जाहेरी परेको छ ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा आज उनीहरुविरुद्ध जाहेरी दिएको हो ।

जेनजी आन्दोलनपछिको परिस्थितिबारे छलफल गर्न हिजो नेविसंघ केन्द्रीय समिति वैठक बसेको थियो । उक्त वैठकले बालेन र सुधनविरुद्ध देशव्यापीरुपमा जाहेरी दिने निर्णय गरेको हो ।

नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरीमा साह र गुरुङमाथि युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यानसमेत जाने गरी मुठभेड गराएको आरोप लगाइएको छ । निजहरुले देशका राष्ट्रिय सम्पदाहरु, भवन संरचनाहरु तथा सरकारी कार्यालयका सामान र कागजातहरु लुटपाट गरी चलअचल सम्पत्ति नष्ट गरेको र र उक्त सम्पत्ति नष्ट गर्नुपर्छ भनि मानिसहरुलाई उक्साएको दावी गरिएको छ ।

संगठनको निर्णयअनुसार आफूले काठमाडौं र ललितपुरमा जाहेरी दिएको बिष्टले बताए । जाहेरी दर्ता भने भएको छैन । प्रहरीले सरकारी वकिल कार्यालयसँग सल्लाह गरेर निर्णय लिने बताएको छ । यसअघि पनि यस्तै प्रकृतिका जाहेरी आएको हुँदा सबैलाई एउटै कारवाही प्रक्रियामा लगिने प्रहरीको भनाइ छ ।

उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् । उनीहरुले २४ घण्टाभित्र उजुरी गर्दा गरी बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन् ।

नेविसंघले भने जाहेरी दर्ताका लागि २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र जाहेरी दर्ता नभएको खण्डमा आफूहरु सडकमा उत्रिने चेतावनी दिएर दिएको छ । यसअघि नेकपा एमाले निकट अनेरास्ववियूले बालेन र सुधनविरुद्ध देशका विभिन्न जिल्लामा जाहेरी दिएको छ ।

यसअघि सुदन गुरुङसहितका युवाहरुले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए । प्रहरीले त्यो जाहेरीलाई जाँचबुझ आयोगमा पठाएकोमा आयोगले प्रहरीमै फिर्ता गरिदिएको छ ।

अशोज २६, २०८२, दिउँसोको ०१:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर