विराटनगर । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा चुनाब हुनुपर्ने बताएका छन् । अहंकार र स्वार्थले देशको भलो नहुने भन्दै उनले सबैलाई एक हुन आह्वानसमेत गरे ।
शुक्रबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रचण्डले चुनाव हुनैपर्ने उल्लेख गर्दै प्रचण्डले आफूहरु त्यसको तयारीमा लागेको बताए ।
माओवादी केन्द्रले केही असहमतिका बाबजुद घोषणा भएको निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पार्दै प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्नेमा जोड दिए । ‘यो निर्वाचन सम्पन्न गर्नका लागि पनि सबै राजनीतिक दल, प्रेस जगत, नागरिक समाज एक भएर नलागिकन यो सफल हुन सक्दैन,’ उनले भने ।
वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै प्रचण्डले संशोधन आवश्यक रहेकोमा जोड दिएका छन् । राष्ट्रिय सहमति जुटाएर संविधान परिमार्जन गर्न सकिने भन्दै उनले त्यसको लागि सबै गम्भीर हुनुपर्ने बताए ।
‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधनरपरिमार्जन गरौं,’ प्रचण्डले भने ‘त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ संविधान निर्माणकै बेला पनि १० वर्षपछि समीक्षा गर्ने भनिएको स्मरण गर्दै प्रचण्डले
जेनजी आन्दोलनले त्यसको आवश्यकता थप स्पष्ट पारेको बताए ।
माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको छ । जेनजीहरुले पनि त्यहि माग उठाउँदै आएका छन् ।
हालको अवस्थालाई भयानक एपिसोडको संज्ञा दिँदै यसबाट पार पाउन सबै दलहरूले अहङ्कार र व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा प्रचण्डले जोड दिए । देशको स्वतन्त्रता, अस्मिता र स्वाधीनताको रक्षाका लागि सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुको विकल्प नभएको उनको भनाइ छ ।
आफू प्रधानमन्त्री हुँदा बिचौलियाको बिगबिगी देखिएपनि नझुकेको बताउँदै प्रचण्डले केपी ओली नेतृत्वको उनीहरुको कब्जामा पुग्दा जनआक्रोश बढेको दावी गरे । अझै पनि ओलीको अहंकार कायमै रहेको भन्दै उनले त्यो दुखद् भएको बताए । ‘यसअघि सरकारको नेतृत्वमा रहनेको त्यो अहंकार अझै गएको छैन’ उनले भने, ‘अझै जनताको चाहनालाई बुझ्ने कोसिस भएन ।’
अहिले पनि अहङ्कारै प्रस्तुत गर्ने तथा आफ्ना कमीकमजोरी स्वीकार्न हिचकिचाउँने हो भने देश अझ ठुलो दुर्घटनामा जाने प्रचण्डले बताए । ‘राष्ट्र अहिले ठुलो सङ्कटमा छ, देशलाई माया गर्नेहरू एक हुनुको कुनै विकल्प मैले देखेको छैन’ उनले भने । जनताको भावना र देशको आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिले नै सङ्कट निम्त्याएको उनको भनाइ छ ।
देशका प्रमुख तीन राजनीतिक दल र तिनका शीर्ष नेताहरूलाई एउटै डालोमा राखेर मूल्याङ्कन गर्ने भाष्य निर्माण गलत भएको भन्दै प्रचण्डले सुशासनका लागि लड्ने माओवादी र भ्रष्टाचारलाई संरक्षण गर्ने अर्को पक्षलाई उस्तै देखाइनु दुर्भाग्यपूर्ण भएको जिकिर गरे । आफू र आफ्नो पार्टीले गरेका गल्ती स्वीकारेर आत्मालोचनासहित जनतामा गएको स्मरण गर्दै उनले सबैलाई एउटै नजरले हेर्ने प्रवृत्तिले आफूलाई चोट पुगेको गुनासो गरे ।
तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने बनाइएको छ । तर, सुशासनको निम्ति सरकारमा हुँदा अभियान चलाएर बिचौलिया र दलालको सेटिङ भत्काउन खोज्ने पनि उस्तै,’ प्रचण्डले भने, ‘अनि तिनैलाई बचाउन संविधान मिचेर सरकार बनाउने पनि उस्तै ?’
अहिलेको अवस्था बन्नुमा सत्तापक्ष र प्रतिपक्षको उस्तै जिम्मेवारी हो भन्ने गलत भएको भन्दै प्रचण्डले आफूले यो जोखिमबारे पहिलेदेखि नै खबरदारी गरेको स्मरण गरे । ‘कमीकमजोरी भयो, गल्ती भयो भनेर आत्मालोचना गर्ने र माफी माग्ने पनि उस्तै ?’ उनले भने, ‘अनि भ्रष्टाचारीलाई बचाउने र राम्रो काम गर्नेलाई नसियत दिने पनि उस्तै ?’
आन्दोलनको घटनाक्रम स्मरण गर्दै प्रचण्डले अन्य नेताजस्तो आफू भागेको नभई सेनाको सम्पर्कमा पुगेको बताए । ‘सिंहदरबारभित्रै रहेको बेला आगलागी सुरु भएको सूचनापछि मैले सेनापतिसँग कुरा गरेर सेनाको सम्पर्कमा गएको हुँ’ उनले भने ।
अर्को प्रसंगमा आफू अध्यक्ष भइराख्नुपर्छ भन्नेमा नरहेको स्पष्ट पार्दै प्रचण्डले नयाँ भूमिकाम जान तयार भएर नै अधिवेशन घोषणा गरेको जानकारी दिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।