काठमाडौं । अनुमति नलिई प्रदर्शनमा उत्रिएको भन्दै काकठमाडौंको माइतीघर मण्डलाबाट डा.निकोलस भुसालसहितलाई प्रहरीले पक्राउ गरेको छ ।
जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसाल, एसपी साह र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो ।
काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । अनुमतिविना प्रदर्शनमा सहभागी भएकोले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोही बमोजिम माइतीघर मण्डला लगायतका क्षेत्रमा कसैलाई पनि हुल बाँधर उभिनसमेत प्रहरीले दिएको छैन ।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । माइतीघर मण्डलादेखि थापाथली र विभिन्न चोकमा प्रहरीको टोली परिचालन गरिएको छ ।
प्रहरी अधिकारीका अनुसार ७ हजारको हाराहारीमा प्रहरीको टोली परिचालन गरिएको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी बलको टोलीसमेत खटाइएको छ ।