विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरूलाई संसद पुनर्स्थापनाका लागि आन्दोलनको तयारीमा रहन निर्देशन दिएका छन् । उनले नेतृत्व छाड्ने प्रश्नमा दृढ अडान लिँदै ‘नसकेपछि मात्र छोड्ने बताएका छन् ।
पार्टीका प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा ओलीले यस्तो निर्देशन दिएका हुन् । एमाले मोरङका अध्यक्ष अम्बर राईका अनुसार अध्यक्ष ओलीले अबको बाटो संसद पुनर्स्थापना नै भएको भन्दै त्यसको लागि आन्दोलनको तयारीमा जुट्न भनेका थिए । ‘हामी अब संसद पुनर्स्थापनामा जानुपर्छ भन्ने कुरामा नै जोड रह्यो,’ राईले भने ।
दुई दिन अगाडि सो बैठक भएको थियो । बैठकमा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन र आफ्नो टोल तथा जिल्लामा पार्टी पंक्तिलाई सक्रिय राख्ने कार्यक्रम सञ्चालन गर्न भनेका छन् । सबै भातृ संगठनहरूलाई तयारी अवस्थामा राख्नुपर्ने निर्देशन आएको राईले बताए ।
बैठकमा ओलीले पार्टी नेतृत्व अहिले परिवर्तन नहुने पनि बताएका छन् । नेतृत्वको विषय पार्टीको महाधिवेशनले टुंगो लगाउने उनको भनाइ थियो । ‘नेतृत्वको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठक र महाधिवेशनले नै फैसला गर्छ भन्ने अध्यक्षको कुरा थियो’ राईले सुनाए ।
भर्चुअल बैठकमा सुझाव दिनका लागि जिल्ला अध्यक्षलाई तीन मिनेटको समय दिइएको एक जिल्ला अध्यक्षले बताए । अधिकांश अध्यक्षहरुले नेतृत्वले कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने आफूले सकुन्जेल नेतृत्व नछाड्ने भन्दै नसकेको दिन छाड्ने बताएका छन् । ‘सक्रियता, इमानले कुनै हिसाबले शिर झुक्न दिन्नँ । नसकेपछि छोडिदिन्छु’ उनले भनेका थिए । पार्टीभित्र नचाहिने हल्ला मच्चाइएको भन्दै उनले पार्टी पुनर्गठनका विषयमा एमालेकै नेताहरुले राखेका धारणाप्रति आपत्ति जनाएका थिए ।
पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन् । उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने बताएका छन् ।
आफू, एमाले र देशविरूद्ध नै षड्यन्त्र भएको बताउँदै ओलीले भदौ २३ र २४ को जेनजी आन्दोलन षड्यन्त्रकै उपज भएको बताएका थिए । उनले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने स्पष्ट बताएका छन् ।
एमालेको सचिवालय बैठक असोज २४ गते बोलाएको छ । केन्द्रीय समिति बैठक असोज २७–२९ गतेका लागि बोलाइएको छ ।
जेन–जी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा डेरा गरी बसेका छन् । उनले पार्टीका गतिविधि पनि गुन्डुस्थिति आफ्नै निवासबाट सञ्चालन गरिरहेका छन् ।