मतदाता नामावलीमा धमाधम नाम दर्ता गराउँदै जेनजी

पुरानाप्रति वितृष्णा, नयाँ आउने आशा

विराटनगर । फागुन २१ गते मध्यावधि निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ । जिल्ला निर्वाचन कार्यालय, मोरङमा मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरु पुग्न थालेका छन् । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर, हालैका राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार पछिल्ला केही दिनयता नामावली दर्ता गराउन आउनेमा अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका युवायुवती छन् । कार्यालयका कम्प्युटर अपरेटर शंकर गिरीले आइतबारयता झण्डै तीन सय जना नयाँ मतदाता थपिएको जानकारी दिए । ‘बिदाको दिनमा पनि हामीले दर्ता खुला राखेका थियौं । अहिले नयाँ दर्ता गराउन आउनेहरु बढिरहेका छन् । धेरै चाप छैन । तर, खाली पनि छैन,’ उनले भने ।

कार्यालयमा भेटिएका अधिकांश युवाहरूले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्नकै लागि नाम दर्ता गराउन आएको बताएका छन् । विराटनगर–५ का २० वर्षीय प्रसन्न लुइँटेलले फागुनमै चुनाव हुने भएपछि आफू उत्साहित भएको बताए । स्नातक तेस्रो वर्षमा अध्ययनरत उनले भने, ‘सोचेको त दुई वर्षपछि चुनाव हुन्छ भन्ने थियो, तर छिट्टै हुने भएपछि उत्साहित छु ।’ जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमबारे उनले भने, ‘जे भयो भयो, अब अगाडि बढ्नुपर्छ । तर अब पुरानै दल र पुरानै अनुहार उठे भने केही हुन्न । कि ‘जेन जी’ कि कोही काबिल मान्छे आउनुपर्छ ।’

विगतमा मतदानप्रति उदासीन रहेका युवाहरू पनि यसपटक भने आशावादी देखिएका छन् । विराटनगर–३ का सौरभ बस्नेतले यसअघि भोट हालेर देश विकास नहुने सोचेर नामावलीमा नाम दर्ता नै नगरेको बताए । ‘पहिले जसलाई भोट दिए पनि केही हुँदैन भन्ने लाग्थ्यो, त्यसैले वास्ता गरिएन,’ उनले भने, ‘तर योपालि भोटै गर्नुपर्छ भनेर आएको हुँ । आशा छ, अब नयाँ अनुहार आउँछ र उसैलाई भोट हाल्ने हो ।’

सोही वडाकी निष्ठा गौतमले पनि विगतमा काठमाडौंमा बस्ने र उम्मेदवारहरू पनि चित्तबुझ्दो नभएकाले मतदानमा रुचि नभएको बताइन् । ‘हालैको आन्दोलन र परिवर्तनको माहोलले अब अलिकति चित्तबुझ्दो मान्छेहरू उठ्नुहुन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘आफ्नो एउटा भोटले पनि फरक पार्छ भन्ने सोचेर आएकी हुँ ।’ उनले नयाँ स्वतन्त्र उम्मेदवार वा पुराना दलभित्रकै राम्रो काम गर्ने व्यक्तिलाई रोज्ने संकेत गरिन् ।

धनकुटा घर भई हाल विराटनगरमा रहेका विजय गुरागाईंले यसअघि राजनीतिक दलहरूप्रति आशा नभएरै नाम दर्ता नगराएको बताए । तर स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारहरूको सफलताले आफूमा आशा पलाएको उनको भनाइ छ । ‘पहिले कुनै पार्टीबाट आस थिएन, अहिले स्वतन्त्रको माहोल र उनीहरूले गरेको कामले सकारात्मक सन्देश दिएको छ,’ उनले भने, ‘अब यो पार्टीहरूको सिन्डिकेट तोडिएला र स्वतन्त्रले नै अगाडि बढाउलान् भन्ने आशाले भोट हाल्न आएको हुँ ।’
विभिन्न कारणले छुटेकाहरू पनि अहिले नामावली दर्तामा सक्रिय छन् । बेलबारी–११ का जाकिरमान तामाङ विदेशमा भएका कारण यसअघि छुटेका थिए । ‘फागुन २१ मा चुनाव हुन्छ भन्ने सुनेपछि मत हाल्ने उद्देश्यले नै नाम दर्ता गराउन आएको हुँ,’ उनले भने ।

हालैको ‘जेन जी’ आन्दोलनले जगाएको राजनीतिक चेतना र स्वतन्त्र उम्मेदवारहरूको उदयले युवाहरूलाई आफ्नो एक मतको शक्तिबारे सोच्न बाध्य बनाएको देखिन्छ । जसको प्रभाव आगामी चुनावमा देखिने निश्चित छ ।

अशोज २२, २०८२, बिहानको १०:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर