लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा महामारीको जोखिम, स्वास्थ्य मन्त्रालयद्वारा १४ बुँदे निर्देशन

कोशी प्रदेशमा महामारीको जोखिम, स्वास्थ्य मन्त्रालयद्वारा १४ बुँदे निर्देशन

विराटनगर । अविरल वर्षापछिको बाढी र पहिरोले कोशी प्रदेशमा ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रदेश स्वास्थ्य मन्त्रालयले सम्भावित महामारी नियन्त्रण र स्वास्थ्य जोखिम न्यूनीकरणका लागि मातहतका सबै स्वास्थ्य निकायहरूलाई १४–बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले प्राकृतिक प्रकोप प्रतिकार्य, स्वास्थ्य जोखिम न्यूनीकरण र महामारी व्यवस्थापनको तयारीका लागि तत्काल सक्रिय हुन निर्देशन दिएको हो।

गत असोज १९ गतेदेखिको अविरल वर्षाले निम्त्याएको विपद्का कारण घाइतेहरूको उद्धार र उपचारमा कठिनाइ भइरहेको तथा यातायात अवरुद्ध हुँदा स्वास्थ्य संस्थाहरूको भूमिका अपरिहार्य बनेको भन्दै मन्त्रालयले परिपत्र जारी गरेको छ। स्वास्थ्य मन्त्री भुपेन्द्र राईको अध्यक्षतामा असोज २० गते बसेको भर्चुअल बैठकको निर्णयअनुसार उक्त निर्देशन दिइएको हो।

प्रदेश सचिव डा. यदुचन्द्र घिमिरेद्वारा हस्ताक्षरित परिपत्रमा घाइतेको शीघ्र उद्धार र उपचार सुनिश्चित गर्न, मृतकको पोस्टमार्टम प्रक्रिया सहज बनाउन र आकस्मिक स्वास्थ्य सेवा, विशेषगरी गर्भवती तथा सुत्केरीलाई प्राथमिकतामा राख्न भनिएको छ।
विपद्पश्चात् फैलिन सक्ने झाडापखाला, डेङ्गी, टाइफाइड, हेपाटाइटिस, कुपोषणजस्ता सम्भावित जोखिम नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोलीलाई प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिइएको छ। साथै, खानेपानी शुद्धीकरणका उपायहरू समुदायस्तरमा प्रचारप्रसार गर्न, महामारी देखिएमा तत्काल अनुसन्धान र प्रतिकार्यलाई अघि बढाउन पनि भनिएको छ।
परिपत्रमा विस्थापित परिवारहरूलाई शुद्ध खानेपानी र स्वस्थ खाना उपलब्ध गराउन, महिला स्वास्थ्य स्वयंसेविकामार्फत वातावरणीय स्वच्छता र सुरक्षित पानीको प्रयोगबारे जनचेतना फैलाउन, र पानीजन्य तथा कीटजन्य रोगहरूबाट बच्ने उपायबारे प्रचारप्रसार गर्न निर्देशन दिइएको छ। मन्त्रालयले सबै कार्यको प्रगतिबारे हरेक हप्ता प्रतिवेदन पेश गर्न पनि सबै स्वास्थ्य निकायहरूलाई निर्देशन दिएको छ।

यो परिपत्र प्रदेशका सबै स्वास्थ्य कार्यालय, प्रदेश मातहतका अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहहरूलाई पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।