बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेश र मोरङ जिल्लाको संयुक्त आयोजनामा मोरङका बाढीपीडितहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका ३ का बाढी प्रभावित स्थानीयलाई लक्षित गरी मंगलबार उक्त शिविर आयोजना गरिएको हो ।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका बिरामीलाई आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार शिविरमा ज्वरो, खोकी र नशासम्बन्धी समस्या भएका बिरामीहरूको संख्या अधिक थियो । जीवन विकास हस्पिटलका डाक्टर सञ्जीव कुमार मण्डल र प्रकाश धिमालले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरबाट एक सयभन्दा बढी स्थानीयले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले बाढीबाट पीडित भएकाहरूलाई स्थानीय स्तरमै सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले यसलाई संघको सामाजिक उत्तरदायित्वको हिस्साको रूपमा उल्लेख गर्दै विपद्को समयमा नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु संघको कर्तव्य भएको धारणा राखे ।

त्यस्तै, संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर समस्यामा परेका नागरिकका लागि यस्ता सामाजिक कार्यहरू निरन्तर गर्दै आएको बताए ।
कार्यक्रममा एनसीडिए कोशी प्रदेशका सदस्य प्रकाश धिमाल, हरिमोहन श्रेष्ठ, मोरङ शाखाका महासचिव अरुण ब्राह्मण ठाकुर, कोषाध्यक्ष मनोज कुमार मण्डल, सचिव सरिता श्रेष्ठ लगायत जिल्ला कार्यसमितिका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

अशोज २१, २०८२, दिउँसोको ०४:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर