विराटनगर । कोशी प्रदेश सरकारले हालको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोत–साधनलाई भ्याएसम्म परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको जनाएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममै रहँदै राहत तथा उद्धारमा खटिएको सरकारले जनाएको छ। प्रदेशका अन्य मन्त्रीहरू समेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार तथा राहत कार्यमा सहभागी भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै प्रदेश मन्त्रीहरू फिल्डमै रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिए । उनका अनुसार भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटाहरू खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन निर्देशन दिइसकिएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सहकार्य गरिरहेको छ। सो मन्त्रालयका मन्त्री रेवती रमण भण्डारीका अनुसार सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाइएको छ। “हामी सबै मन्त्रीहरू फिल्डमै रही जनताको सुरक्षाका लागि काम गरिरहेका छौं,” मन्त्री भण्डारीले भने ।
उनका अनुसार केही दिनअघि मन्त्रालयले प्रदेशका सुरक्षा निकायहरूलाई लाइफ ज्याकेट, बोटलगायतका विपद्–उद्धार सामग्री वितरण गरेको थियो, जसका कारण अहिले उद्धार कार्य सहज भएको छ। करिब दुई करोड रुपैयाँ बराबरका ती सामग्री यसै वर्ष सुरक्षा निकायहरूलाई उपलब्ध गराइएको उनले जानकारी दिए ।
मन्त्री भण्डारीले कोशी प्रदेश सरकारले देशकै पहिलो पटक डिजिटल जोखिम नक्सा तयार गरी कुन–कुन स्थान उच्च जोखिममा छन् भन्ने विवरण सबै पालिकालाई उपलब्ध गराइसकेको बताए । यो विपद व्यवस्थापनका लागि एउटा महत्वपूर्ण सूचना र सहयोग थियो। “प्रदेश सरकारले सबै स्रोत–साधनलाई भ्याएसम्म प्रयोग गर्दै विपद् प्रभावित जनतासँगै खटिएको छ,” उनले भने।
उनका अनुसार केही समयअघि भएको आन्दोलनका क्रममा मन्त्रालयमा रहेका केही राहत तथा उद्धार सामग्री नष्ट भए पनि हाल थप सामग्री वितरणका प्रयास भइरहेको छ।
मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइएको उल्लेख गर्दै प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्ण रूपमा सक्रिय रहेको बताए ।