विराटनगर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जेनजी आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले यो आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरुले गरेको स्वतःस्फूर्त विद्रोहका रूपमा व्याख्या गरे। तर उनले यस आन्दोलनलाई विदेशी वा प्रतिक्रियावादी शक्तिहरूले आफ्नो पक्षमा प्रयोग गर्न खोजेकोतर्फ सचेत रहनुपर्ने बताए ।
उनले भने, ’हामीले आन्दोलनमा पहिलो दिनदेखि नै ऐक्यबद्धता जनाउनुपर्ने थियो। पछि भए पनि हामीले दमन र नरसंहारको विरोध गर्यौं, ओलीको राजीनामा माग्यौं। त्यसकारण हामी फरक छौं, आन्दोलनकारी शक्ति हौं ।’
गजुरेलले नेतृत्व परिवर्तनबारे उठेका आवाजबारे समेत आफ्नो धारणा राखे । उनले सडकबाट उठेको आवाजले सरकार परिवर्तन हुनेभएपनि पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने बताए ।
अध्यक्ष प्रचण्डको बचाउ गर्दै उनले भने, ’सडकबाट उठेको आवाजले सरकार त परिवर्तन हुन्छ, तर पार्टीभित्रको नेतृत्व परिवर्तन हुँदैन। त्यो पार्टीभित्रको प्रश्न हो, छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुंगिन्छ ।’
उनले विशेष महाधिवेशनलाई नै उचित बाटो बताउँदै पार्टीमा विचार र कार्यदिशा अद्यावधिक गर्ने अवसरको रूपमा लिनुपर्ने धारणा राखे। उनका अनुसार नेतृत्व उमेरका आधारमा होइन, विचार र क्रान्तिकारी कार्ययोजनाका आधारमा छनोट हुनुपर्छ ।
’पार्टी अहिले सिद्धान्तविहीन र उपयोगितावादी ढंगले चलेको छ, जसलाई सच्याउनै पर्छ,’ उनले भने। जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई पार्टीभित्र प्रतिनिधित्व दिनुपर्नेमा पनि उनले जोड दिए ।