घरमा जलेको भनिएको पैसाबारे देउवाले नै जवाफ दिनुपर्छ : शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसाको जवाफ देउवाले नै दिनुपर्ने बताएका छन् ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सभापति देउवाको घरमा आगजनी र तोडफोड हुँदा ठूलो संख्यामा पैसा रहेको र त्यसको लुटपाट तथा आगजनी भएको भिडियो सार्वजनिक भएको छ । त्यसबारे महामन्त्री शर्माले ‘घरवाला’ले जवाफ दिनुपर्ने भन्दै देउवाको जवाफ मागेका हुन् ।

जेनजी आन्दोलनकारीको आक्रमणबाट ध्वस्त विराटनगरको कोइराला निवासमा सोमबार पत्रकारसँग कुरा गर्दै शर्माले सभापति देउवालगायतको घरमा जलेको भनिएको पैसाबारे राज्यले अनुसन्धान गर्नुपर्ने पनि बताए ।
‘यसलाई स्पष्ट गर्ने दायित्व घरवालाकै हो, स्पष्ट गर्ने कुरा उहाँहरूले गर्नुपर्छ’ उनले भने, ‘यसलाई राज्यले अनुसन्धान गरेर हेर्ने हो ।’ शर्माले छानविन नभई अनुमानका भरमा भन्न नसक्ने भन्दै त्यसलाई बस्तुगत हेर्ने दायित्व राज्यको भएकोमा जोड दिए ।

आफूले टेलिफोन सम्पर्क गरेर सभापतिलाई यो विषयमा ध्यानाकर्षण गराएको शर्माको भनाइ छ । जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठ निवासमा आगजनी र तोडफोड गरेर देउवा र उनकी श्रीमती आरजु देउवा राणामाथि निर्घात कुटपिट भएको थियो ।

देउवा निवास जल्दा नेपाली र विदेशी रुपैयाँहरू जलेको भिडिओहरू सार्वजनिक भएका थिए। देउवाको घरमा जलेको भनिएको पैसाबारे यसअघि कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा पनि प्रश्न उठेको थियो ।

देउवा र कांग्रेस नेता दीपक खड्काको घरमा पैसा जल्दै गरेको भिडिओ सार्वजनिक भएको थियो । अहिले यसबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरिसकेको छ । देउवाको सचिवालयले भने सार्वजनिक भिडिओ र पैसा जलेको भन्ने विषयको खण्डन गर्दै सत्य नभएको दावी गरेको छ ।

समग्र देशमा जे जति प्रकारका क्षति अथवा जे जति प्रकारका प्रश्न उठ्दै गरेका, भएका, ध्वस्त भएका चीजहरु हुन्, यी सबै कुरा एउटा अनुसन्धानको तहतबाट स्पष्ट हुने शर्माले बताएका छन् । पार्टी र पार्टी सभापति शेरबहादुर देउवाको स्वस्थ्य आवश्यक रहेको उल्लेख गर्दै उनले नेतृत्व परिवर्तनको विषयमा उठेको प्रश्नमा पार्टी सभापति र पार्टीको स्वस्थ्य हुनुपर्ने बताए ।

‘एउटा संकटमा परेको बेलामा पार्टीलाई उत्थान गरेर नयाँ सन्दर्भमा लिएर जाने दायित्व जति घनिभूत छ, त्यत्तिकै सभापतिको स्वास्थ्यका प्रति राख्नुपर्ने संवेदनशीलता पनि त्यत्तिकै जरुरी छ,’ उनले भने, ‘सभापतिजीको स्वास्थ्य लाभ हुँदै गरेको बेलामा स्वास्थ्य लाभ हुने कुरालाई जति शुभभाव राख्न जरुरी छ, त्यत्तिकै कांग्रेसकै स्वास्थ्य लाभ गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ ।’

महामन्त्री शर्माले नयाँ परिस्थितिमा पार्टी पनि नयाँ ढंगले अघि बढ्ने बताए । ‘कोइराला निवासको यो माटोमा उभिएर भन्छु’, उनले भने,‘ हामी नयाँ ढंगले आउनेछौं, मुलुकको अवस्था सम्हाल्नेछौं । मुलुकलाई नयाँ सम्भावनातिर लिएर लैजान कृतसंकल्पित छौं ।’

पार्टीभित्र चलेको बहसलाई लिएर कसैले तिक्तता राख्नु नपर्ने बताउँदै उनले सबैको मतलाई समन्वय गरेर जानुपर्ने धारणा राखे । ‘अहिले प्रश्न गगन–विश्वप्रकाशको मात्रै होइन, यो भन्दा पछिल्लो पुस्ता पार्टीमा आइसकेको छ। यो अवस्था आउनुको पछाडि हाम्रो पनि कमजोरी रह्यो। हामीले पनि आत्म समीक्षा गर्नुपर्छ। कांग्रेसले गरेका राम्रा कामहरू जनतामा जाँदा हामीले क्षमायाचना पनि गर्नुपर्छ’ उनले भने ।

अशोज ६, २०८२, रातीको ०८:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर