चार मन्त्रीले लिए शपथ, डा.संगिताको नियुक्ति नै रोकियो

विराटनगर । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त चार जना मन्त्रीहरूले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा.मदन परियारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले यी मन्त्रीहरू नियुक्त गरी शपथग्रहण गराएका हुन् । यसअघि प्रधानमन्त्री कार्कीको सिफारिसमा अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भएका थिए ।

जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । सोमबारको सपथसँगै कार्की सरकार ८ सदस्यीय बनेको छ ।

सोमबार सपथ लिएका चारसहित स्वास्थय मन्त्रीमा प्रधानमन्त्री कार्कीले आइतबार डा. संगिता मिश्रको नाम सिफारिस गरेकी थिइन् । मन्त्री बन्न उनले स्वास्थ्य मन्त्रालयको अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्री कार्कीले मन्त्री बनाउने भएपछि सचिवबाट राजीनामा दिएकी उनको नाम अन्तिममा रोकिएको हो ।

आइतबार स्वास्थ्यमन्त्रीमा मिश्रको नाम सिफारिस गरिएको सार्वजनिक भएपछि लगत्तै प्रधानमन्त्री कार्कीले नै नियुक्त रोक्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूको शपथ आइतबार राति नै गर्ने तयारी रहेकोमा मिश्रको नाममा विवाद भएपछि अकस्मात शपथ रोकिएको थियो ।

मिश्राको नाम विवादमा परेपछि शपथको समय एकदिन पर सारिएको थियो । मिश्रामाथि मेडिकल उपकरण खरिदलगायत अन्य विषयमा अख्तियारमा छानबिनकै क्रममा रहेकाले नियुक्ति रोकिएको स्रोतले जनाएको छ । मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा कतिपय निर्णयमाथि परेको उजुरी अख्तियारमा विचाराधीन छ ।

स्वास्थ्य सचिव हुन नपाएपछि मिश्र ६ महिना बिदामा बसेकी थिइन् । जेनजी आन्दोलनका कारण नयाँ सरकार बनेपछि १२ औं तहकी अतिरिक्त सचिव डा.मिश्रा गत बिहीबार मात्रै मन्त्रालय फर्किएकी थिइन् । उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्ष २१ फागुनमा डा.विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् ।

अशोज ६, २०८२, दिउँसोको ०३:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर