राप्रपाका प्रदेश सांसदहरूले तत्काल राजीनामा नदिने

विराटनगर । राप्रपाका प्रदेश सांसदहरूले तत्काल राजीनामा नदिने भएका छन् । पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले दशैँपछि मात्रै प्रदेश सांसदहरूसँग छलफल गरेर राजीनामाबारे निर्णय गर्ने सहमति गरेको हो ।

एक नेताका अनुसार, दशैँको समयमा सबै प्रदेशका सांसदहरूलाई काठमाडौंमा बोलाउँदा आउन र जान असहज हुने भएकाले छलफललाई पछि सारिएको हो ।

‘अहिले सबै जनालाई काठमाडौंमा बोलाउँदा आउन र जान समस्या हुन्छ । दशैँपछाडि सहज हुने भएकाले समय पर गएको हो’, ती नेताले भने ।

यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा राप्रपाले भदौ २३ गते संघ र प्रदेशका सबै सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । आन्दोलनपश्चात् प्रतिनिधिसभा विघटन भएकाले संघीय सांसदहरूले भने राजीनामा दिनु परेन ।

यसैबीच, बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । उनले जेनजी आन्दोलनमा राज्यले अत्यधिक बल प्रयोग गरेको र उक्त घटनाले आफूलाई मर्माहत बनाएको भन्दै राजीनामा दिएका हुन् ।

उनको प्रदेशसभा सदस्यको पद भने कायमै छ । उनको राजीनामाको विषयमा पार्टीको बैठकमा कुनै छलफल नभएको बताइएको छ ।

कोशी प्रदेशमा राप्रपाका ६ जना सांसद छन्, जसमा अम्बरबहादुर विष्ट सभामुखको भूमिकामा छन् । सभामुख विष्टले भने पार्टीले आफूलाई राजीनामा दिन नभनेको बताएका छन् ।

अशोज २, २०८२, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर