पार्टीबाट राजीनामा दिएका एमाले नेता घिमिरे बैठकमा रोएपछि…

विराटनगर । जेनजी आन्दोलनको बेला पार्टीबाट राजीनामा दिएको वक्तब्य जारी गरेका नेकपा एमालेका केन्द्रीय सदस्य एवं मोरङ इञ्चार्ज जीवन घिमिरे मंगलबार मोरङका अगुवा कार्यकर्ताको भेलामा पुगेपछि होहल्ला भएको छ ।

भेलामा अतिथि आसन ग्रहण गराउने क्रममा केन्द्रीय सदस्य एवं मोरङ इञ्चार्ज जीवन घिमिरेको नाम उद्घोषकले लिएपछि केही कार्यकर्ताले आपत्ती जनाएका थिए । उनले संकटको बेला पार्टीललाई दोष लगाउँदै राजीनामा दिएका व्यक्तिलाई अतिथि आसन ग्रहण गराउन नहुने भन्दै विरोध जनाएका थिए ।

घिमिरे पक्षका कार्यकर्ताले भने संकटको बेला ज्यान जोगाउन मात्र विज्ञप्ति जारी गरेको भन्दै बचाउ गरेका थिए । बैठकमा उपस्थित नेताहरूले ‘त्यसबारे पछि छलफल गरौँला’ भनेपछि बैठक अगवाडि बढेको थियो ।

बैठकका सहभागीहरुले दिएको जानकारी अनुसार कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित भेलाको सुरुमै घिमिरेलाई अतिथिको रूपमा आसन ग्रहण गराउँदा चर्किएको थियो । पार्टी संकटमा परेको बेला राजीनामा दिने र सहज परिस्थितिमा पुरानै पदमा फर्कन खोजेको भन्दै घिमिरेको आलोचना भएको थियो ।

भेलामा घिमिरेले राजीनामाबारे स्पष्टिकरण दिँदै रोएका थिए । आफूले पार्टी छाड्न नचाहेको भएपनि ‘जेन–जी’ आन्दोलनका क्रममा आन्दोलनकारीले घरमा ढुंगामुढा गर्न थालेपछि वृद्ध बुबाआमालाई जोगाउन राजीनामाको घोषणा गर्नुपरेको स्पष्टिकरण दिए ।

‘मेरो कारणले बुबा धेरै पटक जेल पर्नुभएको छ । तेरो छोरो केपी ओलीको हनुमान होइन भन्दै आन्दोलनकारीहरूले बुबाआमालाई कोठामा थुनेर अब जलाइ दिन्छौँ भनेछन्,’ घिमिरेले भनेका थिए, ‘म काठमाडौंमै थिएँ । त्यसपछि स्थायी कमिटी सदस्य शेरधन राईलगायतका नेताहरूसँग छलफल गरेर राजीनामाको घोषणा गरेको हुँ ।’ उनले रुँदै आफ्ना भनाइ राख्न थालेपछि भेलामा रहेका नेता–कार्यकर्ता पनि स्तब्ध भएका थिए ।

गत भदौ २४ गते ‘जेन–जी’ पुस्ताको आन्दोलनका क्रममा सरकारले गरेको दमनको निन्दा गर्दै घिमिरे र उनकी श्रीमती विमला दाहाल घिमिरेले एमालेमा नरहेको घोषणा गरेका थिए । विमला एमालेको प्रदेश कमिटी सदस्य हुन् । घिमिरे दम्पतीले विज्ञप्ति जारी गर्दै अब ‘जेन–जी’ को आन्दोलनलाई साथ दिने बताएका थिए ।

आन्दोलनको रापतापमा राजीनामाको घोषणा गर्नेमा घिमिरे मात्र थिएनन् । बेलबारी नगरपालिकाका पूर्वप्रमुख तथा कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी र बेलबारी नगरपालिकाका मेयर डीपी राईले पनि पदबाट राजीनामाको घोषणा गरेका थिए । मंगलबारको भेलामा सुवेदी र राई भने उपस्थित थिएनन् ।

छलफलमा सहभागी कार्यकर्ता पंक्तिले पार्टी नेतृत्वको कारण अहिलेको अवस्था आएको भन्दै गल्ती स्वीकार गरेर पद छाड््नुपर्ने बताएका थिए । नेताहरूले भन नेतृत्व परिवर्तनको विषय आगामी महाधिवेशनपछि मात्र उठ्ने धारणा राखेका थिए । पार्टीभित्र गुटबन्दी नगरी एकढिक्का भएर जानुपर्ने उनीहरुको भनाइ थियो ।

भेलामा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन् । नेतृत्वको विषयमा उठिरहेको प्रश्नको विषयमा छलफल हुने भन्दै उनले एमालेको वैधानिक प्रक्रियाबाट नै यसको छिनोफानो हुने बताए ।

संकटको बेला नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै कार्कीले यतिखेर नेतृत्वको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए । एमाले नेता विनोद ढकालले जेन–जीहरूको मागअनुसार नै पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्ने बताए ।

भदौ २३ गतेको घटनापछि पहिलो पटक कोशी प्रदेशमा नेकपा एमालेले भौतिक रुपमा कार्यकर्ता उपस्थित गराएर अगुवा कार्यकर्ता भेला गरेको हो ।

भदौ ३१, २०८२, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर