मुख्यमन्त्रीले गरे प्रदेश सरकार सञ्चालनमा आएको घोषणा : असोज २ गते मन्त्रिपरिषदको बैठक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जेड आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् ।

अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षति पुगेको बताए । उनले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिए ।

देशमा विषम परिस्थिति आइपरेको भन्दै उनले मुख्यमन्त्री कार्कीले यी सबै परिस्थितिको सामना गरेर काम गर्नका लागि आग्रह गरेका छन् ।मुख्यमन्त्री कार्कीले घटनालाई नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षतिको घटनाको रूपमा चित्रण गरेका छन् । ‘विभिन्न राजनीतिक आन्दोलन र विरोधका कार्यक्रमहरू भए, तर यति ठूलो र सर्वाधिक क्षति कहिल्यै भएको थिएन’ उनले भने , ‘यो घटनाले प्रदेशलाई ठूलो नोक्सान भएको छ यसले हामीलाई २० वर्ष पछाडि धकेलेको छ ।’ त्यस अवसरमा उनले आजैदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषदको बैठक बसेर थप निर्णयहरु गर्ने जानकारी दिए ।

सो छलफलमा प्रदेशका सचिवहरुले मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै बाँकी रहेको अवस्थाबाटै केहि दिनभित्र सेवा सुचारु गर्ने जानकारी दिएका थिए ।कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थितिको बारेमा जानकारी गराएक थिइन ।

यसैबीच भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोशी प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयहरुमा भएको क्षतिको प्रारम्भिक विवरण प्रदेश सरकारले संकलन गरेको छ ।आन्दोलनका क्रममा कोशी प्रदेशमा भवन र सवारी साधनतर्फ राज्यको सम्पत्तिमा ठूलो नोक्सानी भएको पाइएको हो । यस आन्दोलनबाट कोशी प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन क्षतिग्रस्त बनेका छन् । जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त छन् भने २४ वटा भवनमा तोडफोाड भई आंशिक क्षति पुगेको छ ।

आन्दोलनकारीले प्रदेश सरकारको २३७ वटा सवारी साधनमा क्षति क्षति पुर्याएको पाइएको छ । जसमा ७५ वटा चारपाङ्ग्रे सवारी साधनमा क्षति पुगेको छ । त्यसमध्ये ६४ वटा चारपाङ्ग्रे सवारी साधन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ११ वटामा आंशिक क्षति भएको छ । यसैगरी १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । तीमध्ये १४४ वटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १७ वटामा आंशिक क्षति पुगेको छ ।

भदौ ३१, २०८२, साँझको ०६:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर