कार्यालय ध्वस्त भएपछि भुइँमै बस्यो इटहरी उपमहानगरको बैठक

विराटनगर । जेन–जी आन्दोलनका क्रममा कार्यालय तोडफोड र आगजनी भएपछि सुनसरीको इटहरी उपमहानगरपालिकाले भुइँमै बसेर कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।

उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएको एक सातापछि मंगलबार कार्यालय परिसरको भुइँमै कार्यपालिकाको बैठक बसेको हो ।

उपमहानगरको प्राङ्गणमा नगर प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरीसहित कार्यपालिका सदस्यहरू भुइँमै बसेर बैठक सम्पन्न गरेका हुन् । बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, क्षतिको विवरण संकलन गर्ने र असोज ४ गतेबाट कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मेयर पौडेलले धम्क्याएर वा भवन जलाएर इटहरी चल्न नरोकिने बताउँदै नगरवासीका सेवा सुरु गर्ने बताएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा उपमहानगरको कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए । आगजनीबाट कार्यालय ध्वस्त भएको छ ।

आन्दोलनका क्रममा नगर प्रमुख पौडेल बस्ने भवन खरानी बनेको छ । यस्तै उनको घर पनि आगो लगाएर क्षतिग्रस्त पारिएको छ ।

आगजनीपछि उपमहानगर कार्यालयका फर्निचर, कम्प्युटर, महत्वपूर्ण कागजात र अन्य सामग्री जलेर नष्ट भएका छन् । भवनभित्रका अधिकांश कोठामा झ्यालढोका फुटाइएका छन् । सूचना प्रविधि शाखा र प्रशासनिक कक्षमा रहेका कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका विद्युतीय सामग्री जलेर नष्ट भएका छन् ।

त्यसक्रममा कर्मचारीहरूले प्रयोग गर्ने मोटरसाइकल र सवारीसाधनमा पनि आगजनी गरिएको थियो । सुनसरी प्रहरीले कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नको पहिचान गरेर कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । आन्दोलनलाई अराजकतातर्फ मोडेर उपमहानगरलाई निशाना बनाउनको पहिचान भइसकेको प्रहरी स्रोतले जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकासहित कोशी प्रदेशका दर्जनौं सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । इटहरी उपमहानगरपालिकामा समेत व्यापक क्षति भएको हो ।

भदौ ३१, २०८२, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर