विराटनगरको राधाकृष्ण रथयात्रा तीनपैनीबाट प्रारम्भ

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा विराटनगर–१ पानीट्याङकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट अगाडि बढेको छ ।

राधाकृष्णको युगलजोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराउन भक्तजन उत्साहपूर्वक सहभागिता जनाउने गर्दछन् । नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत धर्मानुरागीहरुको उपस्थिति हुने गरेको छ ।

रथयात्राको क्रममा पुजा गर्नका लागि नगरका ४४ स्थानमा विश्राम गराइने छ ।मेनरोड हुँदै बजार क्षेत्रबाट अगाडि बढेर रथयात्रा ट्राफिकचौक हुँदै रोडशेषबाट कोशी राजमार्ग भएर बरगाछी पुग्नेछ । त्यसपछि त्यहाँबाट पुनः राधाकृष्ण मन्दिरमा पुगेर ९ किलोमिटरको दुरी पार गर्दै समापन हुनेछ ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यो रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ । रथयात्रामा हजारौं भक्तजनहरू सहभागी हुन्छन् ।

रथयात्राको दिन कोशी प्रदेश सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक बिदा दिएको छ । रथयात्रालाई पूर्ण रुपमा सुरक्षित र शान्तिपूर्ण बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ ।

रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा गरिएको थियो । यो रथयात्रा एसियामै भारतको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ । १९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो ।

भदौ १, २०८२, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर