‘विराटनगर योग दर्पण’ विमोचन

विराटनगर । पतंजलि योग महानगर समिति, विराटनगरद्वारा प्रकाशित ‘विराटनगर योग दर्पण’ को शनिबार बीच विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त दर्पणको विमोचन गरेका हुन् ।

दर्पणमा समितिले वर्षभरि सञ्चालन गरेका विभिन्न योग गतिविधि तथा अभियानहरूलाई समेटिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य पराजुलीले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अपरिहार्य रहेको बताए ।

‘यो ‘योग दर्पण’ ले समाजमा योग प्रतिको जागरण ल्याउन ठूलो सहयोग पुग्नेछ । व्यस्त र तनावपूर्ण जीवनशैलीमा योगले मानिसलाई स्वस्थ र सकारात्मक बनाउँछ । यस्ता प्रकाशनले योगलाई घर–घरमा पुर्याउन र यसलाई जीवनशैलीको अंग बनाउन प्रेरित गर्दछ ,’ पराजुलीले भने । उनले स्वस्थ समाज निर्माणका लागि योगलाई सबैले अपनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमकी सभापति तथा पतंजलि योग महानगर समितिकी अध्यक्ष सिल्पा प्याकुरेलले संस्थाले गरेका कामहरूलाई अभिलेखीकरण गर्न र योग साधकहरूलाई प्रोत्साहित गर्न ‘योग दर्पण’ प्रकाशन गरिएको बताइन् । ‘यो दर्पण हाम्रो समितिको ऐना हो, जसले हामीले गरेका सत्कर्महरूलाई प्रतिबिम्बित गर्छ,’ उनले भनिन्, ‘यसले विराटनगरमा योगको विस्तार र यसप्रतिको आकर्षणलाई देखाउँछ । हामी सबैलाई योगको माध्यमबाट निरोगी जीवन जिउन प्रेरित गर्न चाहन्छौं ।’

कार्यक्रममा पतंजलि योग समिति कोशी प्रदेशकी अध्यक्ष लक्ष्मी काफ्ले, विराटनगर–१ का वडाअध्यक्ष काजी बस्नेत, विराटनगर–४ का वडाअध्यक्ष जितन थापा, विराटनगर–१९ का वडाअध्यक्ष श्याम घिमिरेलगायत विभिन्न योग साधक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

साउन ३१, २०८२, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर