विराटनगर । हुलाकी राजमार्गको मोरङ खण्डमा पर्ने हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटर सडक निर्माण लामो समयदेखि ठप्प रहेपछि कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद पराजुलीले दुई वर्षअघि पनि आन्दोलन गर्दै अनशन गरेको स्मरणसहित पुनः अनसन बस्ने घोषणा गरेका हुन् । सडकको तत्काल निर्माणको काम सुरु नभए आमरण अनशन बस्ने पराजुलीको भनाइ छ । काम सुरु नभए प्रदेशसभा अगाडि आमरण अनशन बस्ने उनले बताए ।

सडक निर्माणका लागि प्रदेश सरकारलाई अग्रसरता लिन पराजुलीले आग्रह गरे । ‘संघको काम भनेर प्रदेश पन्छिन मिल्दैन, प्रदेश सरकारले पनि सरकारजस्तो बलियो खुटटा बनाएर अगाडि आउनुपर्छ,’ उनले भने,‘ द्रुत गतिमा यो बाटो बन्नुपर्छ, बनेन भने हामीले हिजो रिले अनसन गर्याे, म प्रदेशसभा अगाडि आमरण अनशन बस्ने जानकारी गराउँछु ।’

पटक–पटक सहमति भएपनि ठेकेदारले लापर्वाही गरेकोले सडक बन्न नसकेको भन्दै पराजुलीले ठेकेदारको शक्ति सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए । सम्झौता उल्लंघन गर्ने ठेकेदारलाई कालोसूचीमा राखी नयाँ प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।

२०७६ सालमा काठमाडौंस्थित श्रेष्ठ कन्ट्रक्सन कम्पनीलाई ७७ करोड रुपैयाँमा ठेक्का दिइएको सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । तर, हालसम्म जम्मा २२ प्रतिशत मात्र प्रगति भएको छ । बर्खामा हिलो र घाममा धुलोका कारण बाटो प्रयोग गर्नै नसकिने अवस्था छ ।

निर्माणको क्रममा साइड ड्रेन, बिजुली पोल सार्ने काम अझै बाँकी छ । सुरुमा पेटी ठेकेदार भूपाल श्रेष्ठले काम थो पनि पछि छाडेर हाल अभिषेक गिरीले जिम्मा लिएका छन् । तर, कामले गति आएको छैन । हुलाकी राजमार्ग निर्देशनालयका अनुसार यो सडकको म्याद फेरि थप्ने तयारी भइरहेको छ ।