विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले डिजिटल भुक्तानी सेवा सञ्चालन गरेको छ । पहिलो पटक प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा शुरू भएको हो ।
भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले डिजिटल भुक्तानी (क्यूआर) सेवाको शुक्रबार आरम्भ गरेका हुन् । मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर प्रदेशको सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी सेवा शुरू गरे ।
प्रदेश मातहतका सम्पूर्ण अस्पतालमा समेत केही दिनमा सेवाग्राहीलाई शुल्क तिर्नका लागि डिजिटल भुक्तानी सेवा शुरू गर्ने मन्त्री राईले बताए । ‘प्रविधिको जमान छ । हामी खुद्रा पैसा छैन भन्दै सेवा लिन आउनेलाई दुख दिइरका छौं । सेवाग्राहीलाई झन्झट नहोस् भनेर स्वास्थ्य क्षेत्रबाट डिजिटल भुक्तानी शुरू गरेका हौं ।’
प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले डिजिटल भुक्तानीले सेवाग्राही र सेवाप्रदायक कार्यालयका कर्मचारीबीच दूरी कायम हुने र सेवाग्राहीले घर बसेरै सेवा प्राप्त गर्न सक्ने बताए ।
कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका प्रमुख प्रकाशचन्द्र कार्कीले प्रयोगशालाबाट गत आर्थिक वर्षमा २३ हजार ६९० जना बिरामीलाई सेवा प्रदान गरिएको बताए ।
जसमा प्रयोगशालामा आएर प्रत्यक्ष रूपमा २२ हजार ३९० जनाले सेवा प्राप्त गरेका छन् भने स्वास्थ्य मन्त्रालयले शुरू गरेको कुरियर सेवामार्फत् प्रदेशका विभिन्न जिल्लाका १३ सय बिरामीले सेवा प्राप्त गरेको प्रमुख कार्कीले बताए । उनले कुरियर सेवाबाट प्राप्त नमूनामध्ये इलाम र ताप्लेजुङका दुई जना बिरामीमा क्यान्सर रोग पत्ता लागेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।