विराटनगर । ६ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्गको केवल २७ प्रतिशत काम मात्र सम्पन्न भएपछि मोरङको कटहरी गाउँपालिकाका स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।

कटहरी गाउँपालिका ३ कटहरी चोकमा बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म स्थानीयले सडकमा धान रोपेर एक घण्टा विरोध कार्यक्रम सञ्चालन गरे। वर्षायाममा हिलाम्मे र खाडलले भरिएको सडकको अवस्थाप्रति आक्रोश पोख्दै उनीहरूले सांकेतिक रूपमा धान रोपेका हुन्।

‘वर्षौं भइसक्यो, सडक नबन्दा वर्षायाममा अहिले खाडल भएर पानी जमेको छ। पानी पर्दा सडकमा हिँड्न नसक्ने गर्छ। हामीले विरोधस्वरूप सडकमा धान रोपेर विरोध जनाएका हौं,’ कटहरी ३ की लक्ष्मीदेवी साहले भनिन्।
कटहरीको सिंघिया खोलादेखि नयाँबजार अगाडी जुडीखोलासम्मको ६ किलोमिटर सडकखण्डमा हाल २७ प्रतिशत मात्र काम सम्पन्न भएको छ। निर्माण व्यवसायीको हेलचेक्र्याइँका कारण सडक अलपत्र पर्दा स्थानीयवासीले अनगिन्ती कष्ट भोग्नुपरेको छ। ‘हुलाकी सडक तत्काल बनाउनुपर्ने माग राख्दै हामी वर्षौंदेखि आन्दोलनमा बाध्य भएका छौं,’ कटहरीका दिपेश कामतले बताए।

संघीय सरकारले २०७६ कार्तिक २४ गते तीन वर्षमा सम्पन्न गर्ने गरी श्रेष्ठ कन्स्ट्रक्सनलाई ७६ करोड रुपैयाँमा ठेक्का प्रदान गरेको थियो। सम्झौताअनुसार २०७९ कार्तिक २३ गतेसम्म काम सकिनुपर्ने थियो। तोकिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि दोस्रो पटक म्याद थप गरेर २०८२ जेठ मसान्तसम्म निर्धारण गरिएको छ। तर थपिएको म्यादमा पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन।

राजनीतिक दलसहित विभिन्न संघसंस्थाले सर्वदलीय बैठक गरेर पटकपटक आन्दोलन गरेका छन्। ठेकेदारका प्रतिनिधिलाई बोलाएर जिल्ला प्रशासन कार्यालय मोरङमा पटकपटक छलफल भए पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन।
सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनले काम पूरा गर्न नसकेपछि ६ महिनाअघि कांग्रेसका नेता अभिषेक गिरीलाई पेटी ठेक्का दिएका छन्।

यो हुलाकी सडकखण्ड मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटरको हो। २०७६ सालमा चार लेन सडक निर्माण गर्ने उक्त ठेक्का तीन अर्ब ६० करोड रुपैयाँ लागतमा गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको थियो।