विराटनगर । ‘मलाई आशिका लामा (जिना चौधरी)ले एक पाकिस्तानीलाई २५ सय युरोमा बेचिदिइ,’ ग्रिसको कुनै अज्ञात स्थानबाट ह्वाट्सएपमा कुरा गर्दै समिक्षा बस्नेत (नाम परिवर्तन) ले भनिन्, ‘अहिले म बन्धकजस्तै छु, पासपोर्ट र मोबाइल सबै खोसिएको छ ।’
घरको ऋण तिर्ने र परिवारलाई सुखी राख्ने सपना बोकेर आठ महिनाअघि युरोपको यात्रामा निस्किएकी समिक्षाको सपना मात्र नभएर शरिर पनि बन्धक बनेको छ । झापा घर भई काठमाडौंको बालाजुमा बस्दै आएकी उनी कानुनी प्रक्रिया पूरा गरेरै कामदार भिसामा युरोपेली मुलुक सर्बिया पुगेकी थिइन् ।
‘सर्बिया पुगेर १३–१४ दिन काम मात्र के गरेका थियौं, त्यहाँको आन्तरिक राजनीतिक समस्याले हाम्रो भिसा रद्द भयो’, उनले आफ्नो पीडा सुनाइन् । सर्बियामा बस्न पनि नसकिने र घर फर्किन पनि ऋणले थिचिएको अवस्थामा उनले सामाजिक सञ्जाल टिकटकमा ‘आशिका लामा’ नामको अकाउन्ट भेटिन् ।
आशिकाले उनलाई ग्रिस पु¥याइदिने र त्यहाँ राम्रो कमाइ हुने सपना देखाइन् । ‘१ हजार २ सय युरोमा ग्रिस पु¥याइदिने र त्यो पैसा पनि काम गरेपछि तिर्न मिल्ने आश्वासन पाएपछि मैले विश्वास गरे’, ती युवतीले भनिन् । ऋणमा डुबेकी र भविष्य अन्धकार देखेकी उनलाई आशिकाको प्रस्ताव अन्धकारमा देखिएको उज्यालो जस्तै लाग्यो ।
तर, उनले सोचेजस्तो भएन । उनी सर्बियाबाट ग्रिसको भूमि त पुगिन् । तर, त्यहाँ त उनी बेचिएर पुगेकी रहिछिन् । आशिकाबाट आफू एक पाकिस्तानी नागरिकलाई २५ सय युरोमा बेचिएको उनले थाहा पाइन् । आशिकाले समिक्षा जस्ता धेरै नेपाली युवतीलाई पाकिस्तानी दलालसँग पुर्याउने गरेकी रहिछिन् । ‘यहाँ आएपछि हाम्रो पासपोर्ट, मोबाइल सबै खोसियो,’ उनले भनिन्, ‘बिहानदेखि बेलुकासम्म १३–१४ घण्टा कृषि फार्ममा प्याज, आलु र खुर्सानी टिप्ने काममा लगाइन्छ ।’
दिनभरि काम गरेर ५० युरो कमाए पनि उनीहरुको हातमा १५ युरो मात्रै थमाइन्छ । बाँकी पैसा रासनपानी र ऋण तिरेको भनेर दलालले नै राख्छ । उनले आफू सर्भिया जाँदा झण्डै ९ लाख खर्च गरेको पनि बताइन् ।
‘आठ महिना भयो, मैले घरमा एक रुपैयाँ पठाउन सकेको छैन । घरमा सम्पर्क गर्न पनि पाउँदिनँ,’ उनले भनिन् । यो नारकीय जीवनबाट उम्किन उनले एकपटक भाग्ने प्रयास पनि गरिन् । तर, उनी समातिइन् र कडा निगरानीमा राखियो । ‘भाग्ने प्रयास गरेपछि मलाई अरु नेपालीबाट छुट्याएर पाकिस्तानीहरुको बीचमा राखिएको छ’, उनले भनिन्, ‘भनेको मानेन भने पिट्छन्, मार्दिन्छु भनेर चक्कु देखाएर तर्साउँछन् ।’
अहिले उनीसँग आफ्नो पासपोर्ट वा कुनै परिचय खुल्ने कागजात पनि छैन । आफूले बल्लतल्ल किनेर लुकेर मोबाइल प्रयोग गरेको बताउने उनले भनिन्, ‘म घरको एक्लो छोरी, धेरै डराउने मान्छे हुँ’, उनले भनिन्, ‘१० पटक सोचेर हिम्मत जुटाएर तपाईंलाई सम्पर्क गरेकी हुँ । मलाई मार्न पनि सक्छन् ।’
उनीजस्तै त्यहाँ लगभग ३० जना नेपाली र अन्य देशका गरी ५० भन्दा बढी कामदार बन्धक बनाइएको उनी बताउँछिन् । तर, डरका कारण कोही पनि बोल्न सक्ने अवस्थामा छैनन् ।‘कृपया मलाई यहाँबाट निकालिदिन सहयोग गरिदिनुहोस्,’ उनले भनिन्, ‘म घर फर्कन चाहन्छु ।’ उनले आफूलाई यो अवस्थामा पु¥याउने आशिका लामा (जिना चौधरी) र उनका पाकिस्तानी साझेदार सनि भनिने रहेको दाबी गरेकी छिन् । उक्त गिरोहमा माथिल्लो स्थानसम्म पहुँच बनाएका नेपालीहरु पनि संलग्न रहेको थाहा पाएको उनको दाबी छ ।

