उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाइमा चौदण्डीगढी नगरपालिका क्षेत्रका औषधि पसल तथा मेडिकल हलहरूमा भएको छड्के अनुगमनका क्रममा एक मेडिकल हलमा ताला लगाइएको छ भने तीनवटा स्वास्थ्य संस्थालाई जरिवाना गरिएको छ । साथै, केहीलाई चेतावनी दिइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका–४, बसाहास्थित बिज मेडिकल हल लाई मापदण्डविपरीत सेवा दिइरहेको पाइएपछि सिल गरिएको हो । उक्त मेडिकल हल महेन्द्र मण्डलको स्वामित्वमा सञ्चालित थियो । अनुगमनका क्रममा सो मेडिकलले आवश्यक दर्ता र प्रमाणपत्रबिना औषधि बिक्रीवितरण गरिरहेको पाइएपछि तत्काल सिल गरिएको सिडिओ पाण्डेयले जानकारी दिए ।
त्यसैगरी, अन्य तीन स्वास्थ्य सेवासंस्थालाई दर्ता प्रमाणपत्र नभएको र अन्य कानुनी प्रक्रिया नपुर्याएको भन्दै जरिवाना गरिएको छ । जरिवाना गरिएका संस्थाहरूमा पाथीभरा डेन्टल क्लिनिक, शुभम् डेन्टल प्रालि र दिव्यान्स फार्मेसी रहेका छन् । पाण्डेयका अनुसार दिव्यान्स फार्मेसीलाई रु २,५०० र बाँकी दुई डेन्टल क्लिनिकलाई जनही रु ३,००० जरिवाना गरिएको हो ।
अनुगमन टोलीले यस अतिरिक्त तीनवटा मेडिकल तथा फार्मेसीहरूलाई सचेत गराएको छ । यिनले प्रारम्भिक गल्तीहरू दोहोर्याएमा थप कारबाही हुने चेतावनी दिइएको छ । अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाका प्रतिनिधिहरू सम्मिलित थिए । टोलीले अनुगमनको क्रममा म्याद समाप्त भएका औषधिहरू समेत बरामद गरेको छ । ती औषधिहरू तत्काल जफत गरिएको र सुरक्षित रूपमा नष्ट गरिने तयारी भइरहेको जानकारी दिइएको छ । पाण्डेयले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा कुनै सम्झौता नहुने बताए । उनले भने, “औषधि बिक्रीवितरण जनताको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय हो । त्यसैले अब जिल्ला भरि नै थप कडाइका साथ नियमित अनुगमन सञ्चालन गरिनेछ ।”
पाण्डेयका अनुसार यस्ता अनियमितता रोक्न सबै मेडिकल तथा औषधि व्यवसायीले आफ्नो व्यवसाय कानुनी रूपमै दर्ता गरी आवश्यक कागजात अद्यावधिक गर्नुपर्नेछ, नत्र कडा कानुनी कारबाही गरिनेछ ।