कोशी प्रदेशमा खडेरीको प्रभाव : गत वर्षभन्दा ६ प्रतिशत कम रोपाइँ

विराटनगर । यो वर्ष पर्याप्त पानी नपर्दा कोशी प्रदेशमा धान रोपाइँ प्रभावित भएको छ।

कृषि विकास निर्देशनालय, कोशीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, प्रदेशभर साउन ११ गतेसम्ममा ८०.३९ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।

निर्देशनालयका अनुसार गत वर्षको साउन ११ गतेसम्ममा प्रदेशभर ८६.९७ प्रतिशत रोपाइँ भइसकेको थियो । यसपटक समयमै पानी नपर्दा रोपाई हुने क्षेत्रफल ६ प्रतिशतभन्दा धेरैले कम छ । सिचाईं सुविधा नभएको क्षेत्रमा रोपाईं गर्न वर्षात्को पानीको भर पर्नुपर्दा रोपाई प्रभावित भएको हो ।

निर्देशनालयको विवरणअनुसार, प्रदेशको कूल १ लाख ९३ हजार २८५ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये हालसम्म १ लाख ६१ हजार २४६ हेक्टरमा मात्र रोपाइँ भएको छ । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु जस्ता उच्च पहाडी जिल्लाहरूमा औसतमा ६८.४६ प्रतिशत मात्र रोपाइँ भएको छ । पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ जस्ता मध्य पहाडी जिल्लाहरूमा ७४.४३ प्रतिशत रोपाइँ सकिएको छ ।

झापा, मोरङ र सुनसरी जस्ता तराईका जिल्लाहरूमा भने ८३.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी ओखलढुंगामा ९१.८७ प्रतिशत, मोरङमा ८५ प्रतिशत र सुनसरीमा ८४ प्रतिशत रोपाइँ भएको छ। त्यस्तै, सोलुखुम्बुमा ८९ प्रतिशत र खोटाङमा ८८.५८ प्रतिशत रोपाइँ भएको छ ।

निर्देशनालयका अनुसार खडेरीको सबैभन्दा बढी मारमा तेह्रथुम परेको छ । जहाँ ५६ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ। धनकुटामा ६१ प्रतिशत रोपाई भएको छ ।

गत वर्षको तुलनामा रोपाइँमा आएको कमीले यस वर्ष कोशी प्रदेशमा धान उत्पादन घट्नसक्ने देखिएको छ ।

साउन १२, २०८२, दिउँसोको ०१:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर