विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र साइन्स एण्ड टेक्नोलोजी (पुसोइ) ले आइतबार एकै कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अध्ययन पूरा गरेका विद्यार्थीलाई विदाई गरेको छ ।
स्कुल अफ इन्जिनियरिङतर्फ २०२४ को सेमेष्टरमा भर्ना भएका १३५ जनाको स्वागत र २०१९ मा भर्ना भएर स्नातक अध्ययन सम्पन्न गरेका १४८ जनाको विदाई गरिएको हो । त्यसैगरी साइन्स अफ टेक्नोलोजीतर्फ विधाइ ५० जना र स्वागत १५० जना विद्यार्थीलाई गरिएको पुसोइका साइन्स एण्ड टेक्नोलोजीका डिन नरेश साहले जानकारी दिए ।
दुवै कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति थपलियाले विश्वविद्यालयले समयमै परीक्षा सञ्चालन गर्ने र नतिजा पनि समयमै प्रकाशित गर्ने अभ्यास सुदृढ बन्दै गएको बताए । उनले इन्जिनियरिङ शिक्षाबाट देशका लागि दक्ष प्राविधिक जनशक्ति उत्पादन भइरहेको बताए । ‘हालसम्म विश्वविद्यालयबाट २० हजारभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन भइसकेका छन्,’ उनले भने ।
उपकुलपति थपलियाले पठन–पाठनसँगै यस प्रकारका कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र क्याम्पसप्रतिको सम्बन्ध मजबुत बनाउने उल्लेख गरे । ‘विद्यार्थीले क्याम्पसलाई आफ्नै घर सम्झेर उत्कृष्ट बनाउन सहयोग गर्नुपर्छ,’ उनले भने । उनका अनुसार विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम, अवसर र भौतिक पूर्वाधार विस्तार क्रमशः अघि बढाइरहेको छ ।
पुसोइका इन्जिनियरिङ संकायका निमित्त डीन हेमन्त कुमार गोईतले विद्यार्थीलाई आफ्ना अभिभावकको त्याग सम्झेर कठोर परिश्रम गर्दै भविष्यको स्पष्ट लक्ष्यसँग अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा विश्वविद्यालयका अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक उत्तमकुमार रेग्मी, प्राध्यापक संघका उपसभापति जीवन थापा लगायत वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए । पुसोईका निर्देशक ई. तेजराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत र नृत्य प्रस्तुति दिएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको पुसोइले जनाएको छ ।


