विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरूलाई सात दिनभित्र आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मापदण्डमा आउन निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै विभिन्न गैरसरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूले इजाजतपत्र र सञ्चालन स्वीकृति नलिई, स्वीकृतभन्दा बढी शय्या सञ्चालन गरी, तथा विशिष्टीकृत सेवाहरू बिनाअनुमति सञ्चालन गरिरहेको गुनासो आएको भन्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रामहरि घिमिरेद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७०, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७, जनस्वास्थ्य सेवा ऐन, २०७५ (कोशी प्रदेश), र जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।
सूचनामा उल्लेख भएअनुसार, यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायबाट प्रचलित कानून र मापदण्डअनुसार आवश्यक प्रक्रिया पूरा गरी मात्रै सेवा सञ्चालन गर्न भनिएको छ । अन्यथा, जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद ५ बमोजिम कानूनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
यस्ता छन् मन्त्रालयले जारी गरेका निर्देशनहरू :
– स्वीकृत शय्याभन्दा बढी शय्या सञ्चालन गर्नुपरेमा सम्बन्धित निकायबाट अस्पताल स्तरोन्नति तथा सञ्चालन स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने ।
–सम्बन्धित निकायबाट अनिवार्य सञ्चालन स्वीकृति लिएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने ।
–विशेषज्ञ सेवा सञ्चालन गर्दा प्रदेश सरकार वा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने ।
–विशिष्टीकृत सेवा सञ्चालन गर्दा संघीय सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभाग) वा सम्बन्धित निकायबाट सेवा सञ्चालन अनुमति लिनुपर्ने ।
–नेपाल सरकार र प्रदेश सरकारले तोकेबमोजिम न्यूनतम सेवा सुविधा र स्वास्थ्य जनशक्तिको मापदण्ड अनिवार्य रूपमा व्यवस्थापन गर्नुपर्ने ।
–सरकारी निकायमा कार्यरत स्वास्थ्य जनशक्तिले सरकारले तोकेको निकायबाहेक अन्यत्र काम ९क्लिनिकल प्राक्टिस० गर्नु परेमा सम्बन्धित मन्त्रालय वा निकायबाट अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने ।

