बैंक घोटलामा संलग्न एमालेका केन्द्रीय सदस्य पक्राउ

विराटनगर । कर्णाली विकास बैंक घोटालामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

बाँकेको जिविस सभापति भइसकेका मिश्र एमालेका केन्द्रीय सदस्य हुन् । उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

बाँकेमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइने सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । मिश्र विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ मा सूर्य चुनाव चिह्नबाट चुनाब लडेपनि पराजित भएका थिए । त्यसपछि उनी एमाले केन्द्रीय सदस्य भए ।

एमाले प्रवेश गरेपछि उनलाई नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बनाइएको थियो । तर, उनले त्यो निर्वाचन पनि जित्न सकेनन् ।

मिश्रसँगै बैंक ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्तप्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

पक्राउ परेकाहरूलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको सीआईबीले बताएको छ ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।

कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

बैंक सञ्चालक समिति अध्यक्ष डा.ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

असार १८, २०८२, दिउँसोको ०४:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर