विराटनगर । कोशी प्रदेशमा यस वर्ष धान रोपाईले गत वर्षको तुलनामा केही बढी भएको छ । असारको दोस्रो साता १३ गतेसम्ममा कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइ भएको हो । कृषि विकास निर्देशनालय, कोशी प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष यही अवधिमा १३.७१ प्रतिशत मात्र रोपाई भएको थियो।
निर्देशनालयका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा हालसम्म ३९ हजार ३८६.२६ हेक्टरमा धान रोपाई भइसकेको छ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा, मध्य पहाडी जिल्लाहरूमा रोपाईको गति सबैभन्दा अगाडि देखिएको छ। निर्देशनालयको विवरण अनुसारमध्य पहाडमा औसत २४.९२ प्रतिशत रोपाई हुँदा, उच्च पहाडी जिल्लाहरूमा १०.९४ प्रतिशत र तराईका जिल्लाहरूमा १०.७८ प्रतिशत रोपाई भएको छ।
जिल्लागत रूपमा, पाँचथरमा सबैभन्दा बढी ४५ प्रतिशत र भोजपुरमा ४२ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ, जुन प्रदेशकै उच्च हो । त्यस्तै, ओखलढुङ्गामा ३१ प्रतिशत र खोटाङमा ३१.३० प्रतिशत रोपाई भएको छ। यता, धान उत्पादनको मुख्य क्षेत्र मानिने तराईका जिल्लाहरूमा भने रोपाईको गति केही सुस्त देखिएको छ। झापामा ८ प्रतिशत, सुनसरीमा ९ प्रतिशत र मोरङमा १५ प्रतिशत रोपाई भएको छ। सबैभन्दा कम रोपाई सोलुखुम्बुमा ६.३१ प्रतिशत मात्र भएको छ भने संखुवासभा र धनकुटामा पनि समान ७ प्रतिशत मात्र रोपाई भएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।