
मणि हादाल
जनक्रन्तिले राणा फल्यो । पञ्चायत फाल्यो । राजा फाल्यो एकात्मकता फाल्यो । समाजमा क्रन्तिको ज्वालामुखी फाल्यो । सबै खाले क्रान्तिको मूल उद्धेश्य आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणसहितको समुन्नत समाजको निर्माण थियो । कल्याणकारी राज्य व्यवस्थामार्फत समतामूलक समाको निर्माण थियो । तर त्यस अनुसार हुन सकेन । भौतिक विकास भयो । राजनीतिक अधिकारहरु लिपिवद्ध भए । तर सामन्तबादको साँचोमा दिक्षित सामाजिक चेतनालाई प्रगतिशील चिन्तन र चेतनाले भरेर सुसंस्कृत समाजको निर्माण गर्न सकिएन । राजनीतिक दलको चाबीवालाहरु संस्कृतिक क्रान्तिबाट बिचलित हुँदा राजनीतिक रुपान्तरणपछि पनि समाज सामन्तवादी चेतना मक्त हुन सकेन ।
सामाजिक चेतनाले रुपान्तरणको गन्तव्य निर्धारण गर्छ । तर हाम्रो सामाजिक चेतना बिगतमा जे थियो बर्तमानसम्म पनि त्यहि गतिमा छ । समाजल रैती मानसिकता भन्दा माथि उठ्न सकेन । रैती मानसिकताले मालिक जान्दछ । मालिकको भतिm जान्दछ । मालिकको देवत्वकरण जान्दछ । शक्तिको पूजा जान्दछ । लोभ, लालच, पद, पैसा, सत्ता जान्दछ । हावाको तालमा दौडन जान्दछ । व्यक्ति जान्दछ तर समूह जान्दैन । उपभोगवादी जीवनलाई सार्थकता ठान्छ । आफू जान्दछ । सबै जान्दैन । श्रम तथा सीप रोज्दैन । छोटो बाटोबाट र रातारात धनी हुने गलत मार्ग रोज्दछ यस्तै विकृत मनोरोगबाट ग्रसित हुनु हाम्रो सामाजिक विशेषता हो ।
समाज धार्मीक जडतामा जकडिएको छ । काल्पनिक स्वर्ग र नर्कको नसामा समाजको दिमाग लठ्ठिएको छ । सामाजिक मनोविज्ञानलाई पोप, पादरी, स्वामी, माहाराजलगायतका अनेकौं नामका धर्मभिरुहरुले त्यसलाई व्यापारमा परिणत गरेका छन् । धर्मको कलात्मक प्रस्तुति मार्फत समाजका हर सदस्यलाई छमछमी नचाएका छन् । धर्मका ठेकेदारहरु सामाजिक तथा सांस्कृतिक रुपान्तरण चाहँदैनन् । उनीहरु विज्ञानको गतिशील दर्शनलाई विश्वास गर्दैनन् । धर्मको पञ्चामृत छरेर पानी धमिलो पार्दै माछा मार्न उनीहरु खप्पिस हुन्छन् । वैज्ञानिक तथा रुपान्तरित समाज निर्माणको अभियानविरुद्धमा जनतालाई अनेकांै बाहनाले उत्तेजीत बनाउछँन् । वैज्ञानिक चिन्तनशून्य जनता राज्यका हर समस्यामा चिन्तित त हुन्छ । तर चेतनाको अभावमा उसको चिन्ता गलत दिशामा मोडिन्छ । जसरी आज सामन्ती राजतन्त्रवादी फण्डामा जनचेतना मोडिएको छ । वगबिमुख लैङ्गिक संकिर्णतावाद र जातीय अतिवादमा चेतना बन्धक बनेको छ । यस्तो चेतनालाई प्रगतिशील चेतनामा नढाल्दासम्म समाज यथास्थिति भन्दा माथि जानै सक्दैन ।
समाज विकासको चरणलाई उल्टो गतिमा प्रवाहित गर्ने तत्वहरु अनेकांै आवरणमा सल्बलाएका छन् । राजनीतिक आवरणमा सल्बलाएको एउटा भीड जो समाजलाई दाशताको जन्जिरमा बाँधीराख्न चाहन्छ । सो भीड राजनीतिक दलको झण्डामा सोभित छ । उसले मालिक जान्दछ । आदेशको पालना जान्दछ । ठोक्न जान्दछ । टोक्न जान्दछ । बोक्न जान्दछ । तर, मालिकको गलता कुरालाई गलत भन्न जान्दैन । कसैले गलत भनेको सुन्न पनि चाहँदैन । यो जमात बिगतमा पञ्चायतको छत्रछाँयामा मण्डले अवतारमा थियो । आज लोकतन्त्रको आवरणमा नवमण्डले अतारमा संरक्षित छ । यस्तो जमातलाई राज्यको कठोर नीतिले गतिशीलतामा नबदल्दासम्म न त नेता सुध्रन्छ । न त राजनीति नै ।
अनेकांै नामधारी अभियान्ता, अधिकारकर्मी, देशी विदेशी गैर सरकारी निकाय र सस्ता समाजसेवी हाम्रो सामाजिक रुपान्तरणका अर्को बाधक पक्ष हुन् । यो प्रवृतिले समाजलाई गलत निर्देश गरिरहेको छ । यो प्रवृत्ति तारे होटेलमा बस्छ । विदेशी मालिकको आदेश पालक भएर जात वर्ण लिङ्ग सबैलाई उत्तेजीत बनाउँछ । रुपान्तरणको कृतिम मालामा होटेलमा सेमिनार गर्छ । जनताका अनेकांै संवेदनशीलतालाई बेचेर आफू अलिसानको जीवनमा बाँच्छ । यो प्रवृत्ति हरेक राजनीतिक दलको केन्द्र भागमा निर्णायक भएर बसेको छ । जसले आर्थिक, संस्कृतिक तथा सामाजिक रुपान्तरण चाहँदै चाहँदैन ।
समाजलाई यथास्थितिमै अल्मल्याउने अर्का खतरानक पक्ष भनेको बौद्धिक दलाली हो । यो प्रवृत्ति रुपान्तरणको बाहकको भेषमा निहित स्वार्थ भन्दा केही जान्दैन । यस्तोखाले बौद्धिक अपाङ्गता संस्थागत प्रवृत्तिको रुपमा विकास भएको छ । यो प्रवृत्तिले आफ्नो रुपान्तरण चाहन्छ । अरुको चाहँदैन । यो प्रवृत्ति शिक्षित छ । तर चेतनशील छँदैछैन । सधैंभरि राजकीय दलालीको अग्रभागमा रहन चाहने यो प्रवृत्ति कामचोर तथा राजकीय साधन श्रोतको दोहन बिधामा अब्बल छ । यो प्रवृत्ति कर्तब्य पालन गर्दैन । तर अधिकारको चर्का कुरा गर्छ । रुपान्तरणको बर्कोमा जनतालाई गुमराहमा राख्छ । समाजको नजरमा ऊ बौद्धिकजस्तो देखिन्छ । तर, उसको बौद्धिकता कहिलै पनि समाजको हितमा हँुदैन ।
बैद्धिक लम्पट प्रवृत्ति यस्तो खतरनाक हो, जसले शासकको फेरबदल चाहान्छ । तर समग्र समाजको रुपान्तरण चाहँदैन । आफ्नो मालिकलाई शासन सत्तामा ल्याउनको लागि यो वर्गले आन्दोलनको आँधी पनि सृजना गर्छ । गलत दिक्षान्तबाट जनतालाई आन्दोलनको मैदानमा पनि उतार्छ । दलीय घुम्टोमा उसले जनतालाई अनेकां गुलिया बचनले अराजक गतिविधिमा संलग्न पनि गराउँछ । सडकमा टयर बाल्छ । सडक जाम गर्छ । राँको बाल्छ । जब उसको मालिक शासन सत्तामा पुग्छ, त्यसछि यो वर्ग पहुँचको चाकरी र दलालीमा लिप्त रहन्छ । विगत चौंतीस वर्षदेखि यहि वर्गले राजनीति र राजनेतालाई धमिल्याउने काम गरिरहेको छ ।
हाम्रो सामाजिक चेतना पुरातनको तगारोमा जेलिएको छ । गलत शिक्षा र संस्कारले ग्रसित सामाजिक चेतना जानअन्जान प्रतिगमनको चाहनाबाट अभिप्रेरित छ । आज यस्तै चेतना बाहकहरु नै प्रगतिशीलताको प्रवक्ता बनेर अग्रभागमा देखापरेका छन् । उनीहरु आफ्नो मालिकलाई एकल शक्तिशाली देवको रुपमा देवत्वकरण गर्दै राजनीति मैदानमा छन् । उनीहरुले राजनीतिलाई विचार, सोच र नैतिक शून्यताको अवस्थामा पु¥याएका छन् ।
चिन्तन बिनाको चिन्तित समाज अफवाहबाट निर्देशित हुन्छ । विचारशून्य भीडले राजनीति लगायतका हरक्षेत्रमा कब्जा जमाउँछ । कृतिम घुम्टो र सस्तो लोकप्रियताको पछि जनता दौडिरहन्छन् । उनीहरुले गाँठी कुरो बुझ्दैनन् । जनताको यहि मनोभावनामा खेलेर पञ्चायत कालदेखि आजसम्म पनि सोही प्रवृत्तिका नायकहरुले जनतालाई आजीवन करदाता र मतदातामा सीमित गराएर रैतीको जीवनमा बाँच्न बाध्य पारेका छन् । तर, जनता अझै पनि गाँठी कुरो नबुझी लैवरी तालमा नाचिरहेका छन् ।
सितिमिति पारामा बर्तमान समाजको परिवर्तन सम्भव छैन । यथास्थितिमा जसले समाज बदल्छु भन्छ उसले सरासर झुटको खेती गर्दै छ भनेर बुझ्दा हुन्छ । जबसम्म परजीविबाट आत्मजीवि, पराधीनबाट स्वाधीन, व्यक्तिवादबाट समुदायवाद, विभेदवादबाट समतावाद पथभ्रष्ट प्रवृत्तिबाट कर्तव्यपालन जस्ता सवालहरुमा समाजको मनोविज्ञानलाई सजग गराउन सकिँदैन तवसम्म इन्द्रेको बाबै चन्द्रे आए पनि समाजको हालत उस्तै हो ।