लोड हुँदैछ...

मेनु

आफैंबाट सुरु गरौं प्लाष्टिकमुक्त अभियान

आफैंबाट सुरु गरौं प्लाष्टिकमुक्त अभियान

यही जुन ५, २०२५ अर्थात् जेठ २२, २०८२ का दिन नेपालमा पनि विश्व वातावरण दिवस तामझामका साथ मनाइयो । “प्लास्टिक प्रदूषण उन्मूलन गरौँ” भन्ने मूल नाराका साथ यो वर्षको विश्व वातावरण दिवस विराटनगरमा पनि प्रभातफेरि, वृक्षारोपण अनि विभिन्न अन्तरक्रिया कार्यक्रमहरू गरेर मनाइयो । वातावरण दिवसको मूल नारा “प्लास्टिक प्रदूषण उन्मूलन गरौँ” तय गर्नुको उद्देश्य पृथ्वीलाई प्लास्टिकको प्रकोपबाट मुक्त बनाउनु, माटो, पानी, खाना शुद्ध बनाउनु र जीवित जीवहरूको जीवन रक्षा गर्नु हो ।

हरेक वर्ष मनाइँदै आएको विश्व वातावरण दिवसले धेरै सकारात्मक प्रभाव पनि पारेको छ । वातावरण जीवित जीवहरूका लागि हो, त्यसैले वातावरण शुद्ध बनाउने जिम्मेवारी हामी मानवहरूकै हो भन्ने सन्देश दिन यो दिवस सफल भएको छ । अझ यत्रतत्र सर्वत्र फैलिरहेको प्लास्टिक प्रदूषणको आतंकविरुद्ध सन्देश प्रवाह गर्न पनि वातावरण दिवस सफल नै छ । तर नेपालमा जे जसरी देखावटीका लागि मात्र सरकारी र गैरसरकारी क्षेत्रबाट वातावरण दिवस मनाइन्छ, त्यसले मात्र वातावरणको सुरक्षा सम्भव छैन । न त प्लास्टिक प्रदूषण नियन्त्रण नै गर्न सकिन्छ ।

विराटनगरको जनआन्दोलन चोकमा भेला भएर प्रभातफेरी गरिएको थियो, जसमा विभिन्न संघसंस्था, महानगर र कोशी सरकारसमेतको सहभागिता थियो । तर “प्लास्टिक प्रदूषण मुक्त रह्यो” भन्ने नारा लेखिएका ब्यानरहरू नै प्लास्टिकमा प्रिन्ट गरिएका थिए । प्रभातफेरीमा सहभागी हुनेहरूले कम्तीमा ‘म आज प्लास्टिकको बोतलमा राखेको पानी चाहिँ खान्न’ भन्न सकेनन् । धेरैले चिसो पानी खरिद गरेरै पिए ।

हुन त भन्नेलाई धेरै सजिलो हुन्छ तर गर्नेहरुलाई धेरै गाह्रो हुन्छ । तर, नियमनकारी निकाय, दवाव समूहहरुले नै वतावरण दिवसलाई कसरी नारा अनुकुल बनाउने भन्ने व्यवहारिक पाटोबाट नसोच्दा राम्रो सन्देश दिन चाहेर पनि प्रश्नहरु उठिरहेका हुन्छन् । धन्न यसपाली वतावरण दिवसमा प्रभातफेरी गर्नेहरुले फ्रुटी, जुस र पानी पिएर खोल र बोतल सडकमा फयाँकेर चाँही हिडेको देख्नुपरेन ।

हरेक वर्ष वतावरण दिवस मनाउन भनेर स्थानीय तह, प्रदेश र संघीय सरकारले बजेट खर्च गर्ने गरेको छ । तर दिवसलाई व्यावहारिक कसरी बनाउने भन्नेबारे खासै चासो दिइएको पाइदैन । केही बर्ष अघिको कुरा हो कोशी प्रदेशको वतावरण मन्त्रालयले विराटनगरमा विश्ववतावरण दिवस भव्य रुपले मनायो । मन्त्री जगदीश कुसियतसहित सय भन्दा बढीले नयाँ ब्राण्डेड साइकल कुदाएर विराटनगर परिक्रमा गरे । तर त्यसपछि उनीहरु कसैले पनि कहिल्यै साइकल कुदाएनन् । मन्त्री कुसैतले त कोरोनाकाल भएकै बेला आफूले चढ्दै आएको स्कारपियो जीप ओहोदा अनुसार सुहाएन भन्दै सवा दुई करोडको लक्जरी गाडी नै खरिद गरेर चढे ।

वतावरण दिवसका दिन देशभरि प्रसस्त वृक्षारोपण गरिन्छ । नेता, मन्त्री, जनप्रतिनिधि अतिथि बन्छन् । ताली बजाइन्छ र भाषण गरिन्छ । तर रोपेका विरुवा हुर्काउन भने कसैले कहिल्यै चासो दिदैनन् । वृक्षारोपणमा गरिएको खर्च देखावटीले गर्दा बालुमा पानी झैं हुन्छ ।के हामी विश्वमा सबैभन्दा हानिकारक प्रदुषण मानिएको प्लाष्टिकको प्रयोगलाई साँच्चै निण्न्त्रण गरेर वतावरण शुद्ध बनाउन चाहन्छौ ? त्यसो भए हामी आफैंले आफूबाट किन सुरु गर्दैनौं ? पूर्ण नभएपनि सुरुआत त गर्न सकिन्छ नि ! सबैभन्दा पहिले सरकारी निकाय त्यसपछि सरोकारवाला संघसंस्था र अभियान्ताहरु अनि आम नागरिक समाजले प्लाष्टिक प्रयोग गर्दिन भन्ने अठोट लिनुपर्छ । सरकारी सबै निकाय र कर्मचारीहरुले प्लाष्टिको प्रयोग गर्न छाड्नुपर्छ । कार्यक्रमहरु गर्दा पानीका बोतल मञ्च र टेवलमा सजाउने चलन हटाइनुपर्छ । आप्mनै देशमा उत्पादन भएका माटा वा धातुका गिलास र जगहरुबाट पानी पिउने बानी बसाल्नुपर्छ । त्यो पनि गर्न नसकेमा कार्यालय वा कार्यक्रम हलमा अलग्गै जार र गिलास राखेर आफंै गएर पानी पिउने बानी बसाल्नुपर्छ । त्यसले आफूलाई स्वावलम्बी पनि बनाउँछ ।

यसैगरी सार्वजनिक स्थानहरु हेटल, मोटल, सभाहलहरुमा आयोजना हुने कार्यक्रमहरुमा पनि प्लाष्टिकको बोतल प्रयोग गर्ने चलनलाई निरुत्साहित गर्नुपर्छ । प्लाष्टिक प्रयोग नहुने भएमात्र आउँछु भन्ने आँट मन्त्रीहरुले गर्नुपर्छ । यसमा आम नागरिकको भूमिका पनि उत्तिकै छ । हामीले आफ्नो घर परिवारमा पनि सकेसम्म प्लाष्टिका सामग्री प्रयोग गर्ने चलन हटाउदै लानुपर्छ । गाउँघर शहर बजारका टोलहरुमा जवाभावी प्लाष्टिक प्याँक्नेहरुलाई खबरदारी गर्नुपर्छ । यो पंक्तिकार पर्यटकिय जिल्ला इलाम घुमफिर गर्न गएको थियो । त्यहाँ पानी पिएर प्लास्टिकको बोतल सडकमा फयाँक्दा जो कोहीले किन फयाँकेको भनेर प्रश्न गर्ने र उठाउन लगाउँदा रहेछन् । आहा ! क्या गज्जब । हाम्रो विराटनगर पनि यस्तै भैदिए ।

नियमनकारी निकायहरुले वर्षमा एक दिन दिवस मनाएर मात्र हुँदैन । जथाभावी प्लास्टिक प्रयोग गर्ने र फयाँक्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ । कानुन नभए कोशी सरकारले मात्र हैन महानगरपालिकाले समेत नयाँ कानुन नै निर्माण गर्न सक्छ । जसरी सार्वजनिक स्थानहरुमा चुरोट र रक्सी सेवन गर्न पाइदैन त्यसैगरी प्लाष्टिक प्रयोग र व्यावस्थापनको हकमा पनि कानुन कडाइका साथ कार्यान्वयन गराउनु पर्छ ।

प्रयोग गर्न सजिलो भएकैले पुँजावादी उत्पादनको जालमा फँसेर फुरुक्क हुँदै सरकारले प्लास्टिक प्रयोग गर्न उक्साएका हो । अहिले बल्ल घैंटोमा घाम लाग्दैछ र प्लाष्टिक प्रदुषण हानिकारक छ नियन्त्रण गर्नुपर्छ भनेर भनिरहेको छ । जेहोस् ढिलै भएपनि सरकारको होस चाँही खुलेको छ । पछि पछुताउनु भन्दा समय छँदै व्यवहारिक अभियान थाल्नु उत्तम हुन्छ ।

प्लास्टिककै कारणले हो हाम्रो सनपाट खेती चौपट भएको । मौलिक घरेलु झोलाका उद्योगहरु लोप भएको । आप्mनै देशको कच्चा पर्दाथले उत्पादन हुने घरेलु कपडा उद्योगहरु टाटपल्टेको । कागज उद्योगहरु धरासायी भएको र तामा, सिल्भर, स्टिल उद्योगहरु माटाका भाँडाकुडा बनाउने सीप र उद्योग धरासायी बनेको । यति मात्र हैन प्लास्टिककै कारणले हो साइनबोर्ड र व्यानर पेन्टरहरु विस्थापित बनेका र हाम्रो उर्वरा जमिनको उर्वराशक्ति घटर्दै गएको । प्लाष्टिकले गर्दा ढलनाला जाम हुने, आगोको जोखिम बढनेदेखि पानीदेखि वातावरणसमेत प्रदुषण भैरहेको छ ।

यसैले देखावटीका लागि हैन कुनै पनि दिवसका उदेश्य पूरा गराउन सरकार, संघसंस्था र आम नागरिकहरु व्यवहारिक रुपमा सचेत हुनैपर्छ । नत्र वर्षमा एक दिन गरिने दिवसहरु मात्र तामझाम र नामका लागि मात्रै सीमित भइरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।