लोड हुँदैछ...

मेनु

राम्रो सोचको कमजोर कार्यान्वयन

राम्रो सोचको कमजोर कार्यान्वयन

पूर्वतयारीबिना कुनैपनि आयोजनालाई बजेट विनियोजन नगर्न, आयोजनाहरुमा दोहोरोपना हुन नदिन तथा आयोजनाको प्राथमिकीकरणको लागि राष्ट्रिय योजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा छ । त्यही अवधारणा अनुसार प्रदेश योजना आयोगले पनि योजना बैंक बनाएर बैंकमार्फतमा मात्र आयोजना कार्यान्वयनमा ल्याउने निर्णय केहि समय अगाडि गरेको थियो । आयोजना कार्यान्वयन गर्नुपूर्व निर्धारित मापदण्डका आधारमा आयोजना पहिचान, लेखाजोखा, छनौट र प्राथमिकीकरण प्रक्रियाद्वारा छनौट भएका लगानीयोग्य आयोजनाको सुची बैंकमा राख्ने मान्यता हो । आयोजनामा बजेट बिनियोजनको लागि आयोजना बैंकको उपयोग हुनुपर्ने हो । त्यसबाट आयोजनासँग सम्बन्धित तथ्याङ्क लिन, प्रमाणित वा पुष्टि गर्न, विश्लेषण तथा व्याख्या गर्न तथा आयोजनासँग सम्बन्धित सम्पूर्ण सूचना र जानकारी आदान–प्रदान गर्न सकिने हुन्छ । तर, कोशी प्रदेश सरकारले भने आयोजना बैंककै धज्जी उडाएको छ ।

बजेट निर्माण प्रक्रियालाई वैज्ञानिक, पारदर्शी र डेटा–आधारित बनाउने उद्देश्यसहित स्तापान गरेको योजना बैंक सकारात्मक सोच र दीर्घकालीन विकास नीतिप्रतिको प्रतिबद्धताको सूचक हो । तर, यसको कार्यान्वयन पक्षमा देखिएको अराजकता, असमझदारी र तयारीको कमीले यस योजनाको औचित्यमै प्रश्न उठाएको छ । योजना बैंकको मूल उद्देश्य योजना छनोट, प्राथमिकता निर्धारण र बजेट विनियोजनलाई वस्तुगत बनाउनु हो । समावेश गरिएका आयोजनाको डेटा विश्लेषण, प्रमाणिकरण र वर्गीकरण गर्ने प्रणालीले नीति निर्माणलाई सबल बनाउने अपेक्षा गरिएको थियो । तर, कोशी प्रदेशमा योजना बैंकमा ४४ हजारभन्दा बढी आयोजना समावेश हुनु आफैंमा अस्वाभाविक मात्र होइन, योजना बैंकको सैद्धान्तिक प्राबधानकै अबमूल्यन र व्यवस्थापनको असफलता हो ।

सबैभन्दा गम्भीर समस्या भनेको स्क्रिनिङको अभाव हो । न त संघ, प्रदेश र स्थानीय तहका अधिकार छुट्याएर योजना प्रविष्टि गरिएको छ, न त थ्रेसहोल्ड तोकिएको छ । स्थानीय तहले गर्ने साना योजना, निजी स्वार्थ जोडिएका प्रस्ताव, सांसद र नेताको सिफारिसमा प्रविष्ट गरिएका योजना—सब एकै थलोमा मिसिएको छ । यसले योजना बैंकलाई ‘खुला प्लेटफर्म’मा बदलिदिएको छ, जहाँ नीति र मापदण्डभन्दा बढी दबाब र पहुँच हाबी देखिन्छ । मनलाग्दी गोजीका कार्यक्रम योजना बैंकमा हालिएको छ । योजना आयोग र आर्थिक मामिला मन्त्रालयबीच समन्वयको कमी, प्रविधि र सफ्टवेयरको प्रयोगमा उत्पन्न समस्या तथा तल्लो तहका कर्मचारी र जनप्रतिनिधिलाई प्रशिक्षण नदिइ योजना प्रविष्टि गराउँदा योजना बैंक नै औचित्यहिन बनेको छ । अर्कोतिर यसबाट बजेटको वितरणमुखी प्रवृत्ति पनि कायमै रहने संकेत मिलेको छ ।

सबै क्षेत्रबाट योजनामा व्यापक सहभागिता हुनु जनआस्था र अपेक्षाको सूचक हो । योजनालाई स्क्रिनिङ गरेर फेहरिस्त तयार गर्ने र तीन वर्षसम्म उपयोग हुने योजना बैंक निर्माण गर्ने योजनाले दीर्घकालीन असर पार्न सक्छ । तर, यसका लागि राजनीतिक इच्छाशक्ति, स्पष्ट मापदण्ड, प्रविधि दक्षता र नीतिगत अनुशासन अपरिहार्य छन् । सांसद, मन्त्री, वा मुख्यमन्त्री कसैको दबाबले होइन, वैज्ञानिक प्रक्रिया र प्रदेशको समग्र विकास आवश्यकताका आधारमा योजना छनोट हुनुपर्छ । नत्र भने योजना बैंक नामको यो सुन्दर आवरणभित्र पुनः वितरणमुखी, परिणामविहीन र असमान विकासको पुरानै ढर्रा दोहोरिनेछ । सरकार र योजना आयोगले संयम, पारदर्शिता र मापदण्डमा कठोरता अपनाउँदै योजना बैंकलाई व्यवहारिक, विश्वासिलो र परिणाममुखी बनाउनेतर्फ गम्भीरता देखाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।