लोड हुँदैछ...

मेनु

सम्पादकीय

बजेटको चिर्कटोमा समेटिएको सिद्धान्तविहीनता

बजेटको चिर्कटोमा समेटिएको सिद्धान्तविहीनता

कोशी प्रदेश सरकारले टुक्रे योजना ल्याएर बजेट छर्ने कार्य गलत भएको भन्दै आगामी वर्षबाट त्यसमा सुधार गर्ने बताउँदै आएको थियो । टुक्रे योजनाले प्रतिफल नदिएको र त्यस्ता योजनामा गएको बजेट दुरुपयोग भएको भन्दै योजना बैंकमा समावेश भएका आयोजनामा मात्र बजेट ल्याउने प्रचार प्रसार पनि सरकारले राम्रै गर्यो । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि प्रदेशसभामा प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा पनि त्यहि विषय समेटिएको छ । तर, बिनियोजन बिधेयकको सिद्धान्त र प्राथमिकता संसदमा छलफलकै क्रममा रहँदा सांसदलाई छुट्टै ‘चिर्कटो’ बाँडेर योजनामा बजेट बाँडफाँट गर्न दिने निर्णय आफैमा हाँस्यास्पद र नीतिविहीन कार्य हो । विनियोजन विधेयकमा स्पष्ट भनिएको छ— साना, टुक्रे र असम्बन्धित योजनामा बजेट विनियोजन नगर्ने । तर, सरकारले सांसदलाई ५–७ लाखका योजना छनौट गर्न भनेको छ । त्यसको लागि प्रत्यक्ष निर्वाचित सांसदलाई जनही २ करोड ५० लाख र समानुपातिक सांसदलाई १ करोड ५० लाखको बजेट छुट्याएर आफूले बनाएको सिद्धान्तको धज्जी उडाउने काम सरकार आफैले गरिरहेको छ ।

योजना बैंकमा समावेश भएका ३८ हजारभन्दा बढी योजनालाई बेवास्ता गर्दै सांसदकै रोजाइअनुसार योजना पेश गर्न दिनु सुशासन र पारदर्शिताको पनि विरोधी अभ्यास हो । अख्तियार र महालेखा परीक्षकको सिफारिससमेत बेवास्ता गर्दै सरकारले ‘राजनीतिक सन्तुलन’को नाममा जनप्रतिनिधिलाई बजेट बाँडेर गणित मिलाउने प्रपञ्च गरेको छ । सांसदलाई दिएको चिर्कटोमा कुन मन्त्रालयमा कति बजेट छुट्याउने, कुन–कुन शीर्षकमा योजना पेश गर्ने भन्ने यति ठोस र पूर्वनिर्धारित ढाँचाले प्रदेश सरकारलाई ‘विनियोजन प्रक्रियामा राजनीतिक हस्तक्षेप गर्ने संयन्त्र’का रूपमा चित्रित गरिरहेको छ । यस्तो कार्यले योजनाको प्राथमिकता, प्रभावकारिता र दीर्घकालीन परिणाममाथि गम्भीर प्रश्न उठाउँछ ।

अझ चिन्ताजनक त के छ भने, प्राविधिक नभएका मन्त्रालयहरूमा करारका प्राविधिक ल्याएर सांसदकै योजना लागू गर्न सकिने व्यवस्था गरिँदैछ । यसले योजना कार्यान्वयनको गुणस्तरमाथि मात्र प्रश्न उठाउँदैन, प्रदेश सार्वजनिक प्रशासनमा सीप र संरचनालाई नै झनै कमजोर बनाउने खतरा बोकेको छ । योजना बनाउने प्रक्रिया सरकारको नीति र दायित्वअनुसार आवश्यकतामा आधारित हुनुपर्ने हो । तर, सांसदले चुनावमा बोलेको भाषणको सम्झना र भोटको आधारमा बजेट छुट्याउने मन्त्रीको तर्क आफैँमा राज्यकोषमाथिको भद्दा मजाक हो । समाजवादको नाममा विभेदकारी वितरण प्रणाली स्थापना गर्नु समाजवाद होइन, सत्ता समिकरणको आडमा भ्रष्ट्र अभ्यासको संस्थागत रूप हो ।

विकास भनेको भौतिक संरचना बनाउने मात्र होइन, संस्थागत सुशासन, पारदर्शिता र समावेशी प्रक्रियामार्फत जनताको विश्वास जित्ने अभ्यास हो। सांसदको सुविधा र राजनीतिक लाभका लागि बनाइएका यस्ता निर्णयले प्रदेश सरकारको दीर्घकालीन विश्वासनीयता गुम्नेछ । अतः कोशी प्रदेश सरकार अहिले नै आफ्नो नीति–प्रक्रिया–कार्यान्वयनको खिचडीलाई पुनः समीक्षा गर्न जरुरी छ । नत्र ‘चिर्कटो नीति’ अन्ततः भ्रष्टाचार र बद्नामीको अर्को अध्यायको रूपमा इतिहासमा दर्ज हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds